स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताएका छन्। मंगलबार पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेशन उद्घाटन समारोहमा बोल्दै उनले फार्मेसी व्यवसायी र कम्पनीहरूको मनोमानी अन्त्य गर्न मूल्य समायोजन प्रक्रिया सुरु गरिएको जानकारी दिए। मूल्य समायोजनपछि सरकारद्वारा तोकिएको मूल्य सूचीअनुसार देशभर औषधि खरिद बिक्री हुनेछ, जसले बिरामीलाई ठगिनबाट जोगाउने मन्त्री पौडेलको भनाइ छ।
उनले नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए। विपन्न र असहाय नागरिकले सहज रूपमा स्वास्थ्य सुविधा पाउन र उपचारको अभावमा कोही पनि अकालमा मृत्युको शिकार नहुन् भन्ने उद्देश्यले स्वास्थ्य क्षेत्र सुधारका काम भइरहेको उनले बताए।
मन्त्री पौडेलले पूर्वस्वास्थ्यमन्त्री गगन थापाको पालामा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई परिमार्जन गर्न योजना बनाइएको बताए। उनले स्वास्थ्य बीमाको सीमा एक लाख रुपैयाँबाट बढाएर पाँच लाख रुपैयाँ पुर्याउने तयारी भइरहेको जानकारी दिए। यसका लागि रोजगारीमा आबद्ध व्यक्तिको मासिक तलबको दुई प्रतिशत बीमा कोषमा जम्मा गर्ने व्यवस्था गरिने र सरकारद्वारा उठाइने करको शून्य दशमलव पाँच प्रतिशत बीमा कोषमा जाने प्रावधान थप्ने प्रस्ताव गरिएको उनको भनाइ छ। यसका साथै, हालको स्वास्थ्य बीमा करलाई तीनगुणा बढाउने योजना रहेको उनले उल्लेख गरे।












प्रतिकृया