गुगलले हालै अर्को ठूलो कानूनी चुनौतिमा फसेको छ, जसमा उसको विज्ञापन प्रविधि प्रणालीमाथि अमेरिकी सरकारले मुद्दा दायर गरेको छ। यो एन्टिट्रस्ट मुद्दा, गुगलविरुद्धको दोस्रो ठूलो कानूनी संघर्ष मानिएको छ, जसले कम्पनीलाई आफ्नो व्यवसायका केही हिस्साहरू तोड्न वा विज्ञापन प्रविधिमा परिवर्तन गर्न बाध्य बनाउन सक्छ।
अमेरिकाको भर्जिनियामा दायर मुद्दामा सरकारी वकिलहरूले गुगलले विज्ञापनदाताहरू र प्रकाशकहरूबीचको दलाली गरेर एक डलरमा ३६ सेन्टसम्म कमाउने गरेको आरोप लगाएका छन्। यद्यपि, गुगलले यो आरोपलाई पुरानो इन्टरनेटको संदर्भमा आधारित भएको बताउँदै अस्वीकार गरेको छ। कम्पनीले हालको विज्ञापन बजारमा टिकटक र पीकक जस्ता प्लेटफर्महरूको लोकप्रियता बढेको तर्क राख्दै आफ्नो प्रभुत्वको दाबी अस्वीकार गरेको हो।
गुगलको विज्ञापन नेटवर्कबाट आएको आम्दानीमा पनि पछिल्ला वर्षहरूमा कमी आएको छ। २०२१ मा ३१.७ बिलियन डलर आम्दानी गरेको गुगलले २०२३ मा ३१.३ बिलियन डलर मात्र आम्दानी गरेको छ। यो मुद्दाको केन्द्रमा गुगलका एडसेन्स र गुगल एड मेनेजर जस्ता सेवाहरू रहेका छन्।
भर्जिनियाको अलेक्जान्ड्रिया अदालतमा यो मुद्दा सोमबारदेखि सुरु भएको हो। यस मुद्दामा गुगलले जुरी ट्रायलको सट्टा बेन्च ट्रायल गर्न दबाब दिएको थियो। यो मुद्दामा फैसला जिल्ला न्यायाधीश लियोनी ब्रिन्केमाले गर्नेछिन्, जसले सेप्टेम्बर ११ का आतंकवादी आक्रमणजस्ता ठूला मुद्दामा समेत काम गरिसकेकी छन्।
गुगलको वार्षिक राजस्व ३०७ अर्ब डलरभन्दा बढी रहेको हुँदा यो मुद्दाले कम्पनीको भविष्यमा ठूलो असर गर्नसक्ने प्रबन्धन अभ्यासका प्रोफेसर पिटर कोनले बताएका छन्। यदि गुगलले मुद्दा हारेमा, कम्पनीलाई आफ्नो राजस्वमा अर्बौँ डलर योगदान गर्ने केही हिस्सा बेच्नुपर्ने हुनसक्छ।
















प्रतिकृया