नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण सुधार भइरहेको भन्दै लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। मंगलबार थाइल्याण्डको बैंककमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले नेपालले हालै आठवटा लगानीसम्बन्धी कानुन परिमार्जन गरेको र द्विपक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन भएको जानकारी गराए।
ढकालले स्वदेशी र विदेशी लगानी बढ्दा रोजगारीका अवसरहरू सिर्जना हुने र श्रमिक सुरक्षा प्रत्याभूति हुने बताए। साथै, उत्पादन र उत्पादकत्वमा वृद्धि हुँदा लगानीकर्ता र श्रमिकको हक सुरक्षाको वातावरण निर्माण हुने उनको भनाइ थियो। साना तथा मझौला उद्यमीको अधिकार सुनिश्चित नगरी समग्र क्षेत्रमा प्रगति सम्भव नभएको भन्दै उनले साना उद्यमीको हकमा सरकार र विकास साझेदारले ध्यान दिनुपर्नेमा जोड दिए।
अनौपचारिक क्षेत्र र त्यहाँ कार्यरत श्रमिकको औपचारिकीकरणको आवश्यकता रहेको बताउँदै अध्यक्ष ढकालले यसका लागि रणनीति बनिरहेको र सबै क्षेत्र मिलेर काम गर्नुपर्ने बताए। साथै, उनले महासंघ मानव अधिकारप्रति संवेदनशील रहेको र जिम्मेवार व्यवसायिक अभ्यासलाई प्रोत्साहित गरेर लगानी आकर्षित गर्ने लक्ष्यमा रहेको बताए।















प्रतिकृया