प्रचण्ड पार्टी कार्यालयमा देखिँदा ओली र देउवा कहाँ छन् ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ३१ गते
प्रचण्ड पार्टी कार्यालयमा देखिँदा ओली र देउवा कहाँ छन् ?

भदौ २४ गतेको जेनजी आन्दोलनपछि प्रमुख तीन दलका नेताको अवस्थाप्रति जनताहरूबीच चासो रहँदै आएको छ।

जेनजी आन्दोलनमा देशभर हिंसा, आगजनी र तोडफोड हुँदा प्रमुख नेताहरूको सुरक्षामा उच्च सतर्कता अपनाइएको थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ २४ गते अपराह्न सिंहदरबारमा सर्वदलीय बैठकका लागि पुगेका थिए। बैठक सुरु नहुँदै आगजनी हुँदा उनी नेपाली सेनाको सुरक्षामा सुरक्षित स्थानमा सरेका थिए।

नयाँ सरकार गठन र आन्दोलन साम्य भएपछि प्रचण्ड मंगलबार आफ्नो पार्टी कार्यालय पेरिसडाँडामा अवलोकनका लागि पुगेका छन्।

त्यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वमन्त्री आरजु राणा भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा प्रदर्शनकारीको आक्रमणमा घाइते भएका थिए। नेपाली सेनाले हेलिकप्टर उद्धार प्रयास असफल भएपछि गाडीमार्फत छाउनीस्थित अस्पताल पुर्‍याएको थियो। सेनाको चिकित्सक टोलीले हाल पनि उनीहरूको उपचार गरिरहेको छ। देउवा दम्पतीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। उनीहरूलाई नजिकका आफन्त मात्र भेट्न पाएका छन् भने कांग्रेस नेताहरूलाई भेट्न अनुमति छैन।

एमाले अध्यक्ष र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भदौ २४ गते राजीनामा दिएपछि बालुवाटारबाट सैनिक हेलिकप्टरमार्फत शिवपुरीस्थित ब्यारेकमा सुरक्षित राखिएका छन्। अहिलेसम्म ओली सार्वजनिक रूपमा देखिएका छैनन्।

जेनजी आन्दोलनका कारण कम्तीमा ७२ जनाको मृत्यु भएको छ भने संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार, पालिका भवन, प्रहरी चौकी, व्यावसायिक प्रतिष्ठान र सवारीसाधनमा ठूलो क्षति भएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स