लाभांश पारित गर्न प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा कहिले बस्दै ?
लाभांश पारित गर्न प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारण सभा जेठ २६ गते बस्ने भएको छ। सभा काठमाडौंस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यस्तै, यसअघि सातौं वार्षिक साधारण सभाले पारित गरेको ७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय भने रद्द गरिनेछ।
त्यसैगरी, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
सभा प्रयोजनका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरिसकेको छ। जसअनुसार, जेठ १४ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन्।