रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा ११.५७ प्रतिशतले घटेर ३ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। नाफामा आएको गिरावटको मुख्य कारण प्रशासनिक खर्चमा वृद्धि हुनु र विद्युत बिक्री आम्दानी स्थिर रहनु हो।
पहिलो त्रैमाससम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ५ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आवमा पनि सोही स्तरमा रहेको थियो। समीक्षा अवधिमा कम्पनीले ६ लाख ४८ हजार रुपैयाँ वित्त आम्दानी गरेको छ। यता, कम्पनीको प्रशासनिक खर्च ५३.६५ प्रतिशतले बढ्दै ३३ लाख ७१ हजार रुपैयाँ पुगेको छ भने वित्त खर्च ८ लाख ७९ हजार रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा कम्पनीले ७ लाख ४९ हजार रुपैयाँ स्टाफ बोनसको रुपमा खर्च गरेको छ। रुरु जलविद्युतको चुक्ता पूँजी ५६ करोड ७३ लाख रुपैयाँ रहेको छ भने रिजर्भ तथा सञ्चित मुनाफा २४ करोड ५५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा कम्पनीको रिजर्भ २१ करोड ९६ लाख रुपैयाँ थियो। कम्पनीको कुल चालु सम्पत्ति २८ करोड ७७ लाख रुपैयाँ र कुल चालु दायित्व १२ करोड ७७ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ९८ पैसाले घटेर २३.२२ रुपैयाँमा सीमित भएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १४३.२८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७३.१६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २९.६७ गुणा र तरलता अनुपात २.२५ प्रतिशत रहेको छ।
















प्रतिकृया