चीनमा एक दिनमै ५० हजार बुकिङ भएको टेस्ला मोडल वाईको के के छन् फिचर्स ?
अमेरिकी ब्राण्ड टेस्लाले मोडल वाईको फेसलिफ्ट मोडलको बुकिङ सुरु गरेको दिन ५० हजार युनिटको बुकिङ प्राप्त गरेको छ। चिनियाँ अटो ब्लगर झाङ सान जेआइएओका अनुसार, १० जनवरीमा बुकिङ सुरु भएपछि पहिलो दिन नै मोडल वाई फेसलिफ्टको ५० हजार युनिट बुकिङ भएको हो।
चीन टेस्लाका लागि सबैभन्दा ठूलो बजार हो, र गतवर्षमा टेस्लाले सबैभन्दा धेरै कार चीनमा बिक्री गरेको थियो। चीनमा टेस्ला वार्षिक रूपमा ६ लाख ५० हजार युनिटभन्दा बढी कार बिक्री गर्दै आएको छ।
टेस्लाले मोडल वाईको फेसलिफ्टको दुई भेरियन्टमा लन्च गरेको छ, जसको मूल्य क्रमशः ३५,९०५ र ४१,४०० डलर तोकिएको छ। यो मोडल कम्पनीको सबैभन्दा बढी बिक्री हुने मोडल हो।
फेसलिफ्ट मोडलमा सुधार गरिएको डिज़ाइन र नयाँ सुविधाहरू छन्। यसमा नयाँ कनेक्टेड एलइडी लाइटबार, सुधारिएको एरोडायनामिक्स, र ड्रयाग कोफिसीयन्ट ०.२२ (पहिले ०.२३) छ। नयाँ डिज़ाइनको पछाडि कनेक्टेड लाइटबार र डकटेल स्पोइलर थपिएको छ।
यस मोडलमा १९ वा २० इन्चका नयाँ ह्वील, फ्लस डोर ह्याण्डल, र नयाँ ब्लु कलर अप्सन पनि उपलब्ध छन्। टेस्ला मोडल वाईको ड्यासबोर्डमा १५ इन्चको टचस्क्रीन डिस्प्ले छ, जसमा कारको स्पीड, गियर, र एडास जस्ता सम्पूर्ण इन्फर्मेसनहरू उपलब्ध छन्।
फेसलिफ्ट मोडल वाईमा ६२.५ किलोवाट आवरको सीएटीएल एलएफपी ब्याट्री प्याक छ, जसले सिंगल चार्जमा ५९३ किलोमिटरको रेंज दिन्छ। यसमा २२० किलोवाटको रियर ह्वील मोटर रहेको छ, जसले ५.९ सेकेण्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टा स्पीडमा पुग्न सक्छ।
मोडल वाई फेसलिफ्टको लम्बाइ ४७९७ एमएम, चौडाइ १९२० एमएम, र उचाइ १६२४ एमएम छ, जसमा २८९० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ।