प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको योगदानको प्रशंसा गरेकी छन्। बुधबार आयोगको ३५ औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उनले आयोगले राम्रो काम गर्दै आए पनि भ्रष्टाचार न्यून हुन नसकेकोमा चिन्ता व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “मुलुकमा सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणका लागि आयोगले निभाउँदै आएको भूमिका महत्वपूर्ण छ। पछिल्लो समय आयोग अझ सक्रिय, निर्भिक र सशक्त ढंगले काम गरिरहेको छ।”
भ्रष्टाचार नियन्त्रणको महत्वबारे उनले थपे, “मुलुकमा सुशासन, विकास र समृद्धि हासिल गर्न भ्रष्टाचार नियन्त्रण पहिलो र अनिवार्य सर्त हो। समाजमा न्याय र सुरक्षाको न्यूनतम मापदण्ड पनि भ्रष्टाचारविहीन अवस्थामा मात्र प्रत्याभूत हुन्छ। त्यसैले हरेक राष्ट्रले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउनुपर्छ।”
प्रधानमन्त्री कार्कीले नेपालमा संविधानमै अख्तियार जस्तो निकायको व्यवस्था भएको स्मरण गराउँदै भनिन्, “अख्तियारले गर्ने कारबाहीका कारण प्रत्येक कर्मचारी र राष्ट्रसेवक पदाधिकारीमा एक प्रकारको डर उत्पन्न भएको छ।”
उनले नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धताअनुसार भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिइन्। यसैगरी, भ्रष्टाचार सम्बन्धी सुनुवाइका लागि विशेष अदालत पनि नेपालमा रहेको उनले स्मरण गराइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “भ्रष्टाचार नियन्त्रणका लागि पर्याप्त संरचना, कानुनी र नीतिगत व्यवस्था हाम्रो देशमा उपलब्ध छन्। तर, किन भ्रष्टाचार कम हुँदै गएको छैन भन्ने कुरा चिन्ताजनक छ।”
अन्त्यमा उनले जेएनजी आन्दोलनको म्यान्डेट स्मरण गर्दै भ्रष्टाचार नियन्त्रणको प्रमुख जिम्मेवारी सरकार र कार्यकारी अंगकै हुने पनि जोड दिइन्।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया