खर्च विवरण बुझाइसकेका छौं, गलत प्रचार भयो : सोविता गौतम
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता सोविता गौतमले निर्वाचन आयोगमा कानुनअनुसार खर्च विवरण बुझाइसकेको भए पनि आफूविरुद्ध गलत प्रचार गरिएको बताएकी छन्।
निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक नगरेको भन्दै १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेपछि त्यसविरुद्ध अदालत गएको र अदालतबाट सफाइ पाइसकेको उनले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेकी हुन्।
फेसबुक पोस्टमार्फत गौतमले निवर्तमान प्रतिनिधि सभा सदस्यहरू सोविता गौतम, गणेश पराजुली, शिशिर खनाल र विराज भक्त श्रेष्ठले निर्वाचन प्रचार–प्रसारमा भएको खर्चको विवरण जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा समयमै बुझाएको उल्लेख गरेकी छन्।
उनका अनुसार खर्च विवरण आमसञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिकसमेत गरिएको थियो। तर त्यस हुँदाहुँदै पनि निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक नगरेको भन्दै १५ हजार रुपैयाँ जरिवाना गरेको र आफूहरू कालोसूचीमा परेको भनी प्रचार गरिएको उनले बताइन्।
गौतमले लेखेकी छन्,
‘हामी निवर्तमान प्रतिनिधि सभा सदस्यहरू सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र विराज भक्त श्रेष्ठले कानुनले भनेअनुसार आफ्नो निर्वाचन प्रचार–प्रसारमा भएको खर्चको विवरण जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा समयमै बुझाएका थियौँ। साथै, सो विवरण आमसञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत सबैको जानकारीका लागि सार्वजनिक पनि गरेका थियौँ।
तर निर्वाचन आयोगले मिति २०८०।०४।०९ मा प्रेस विज्ञप्ति जारी गर्दै, खर्चको विवरण सार्वजनिक नगरेको भन्दै हामीलाई रू. १५,००० जरिवाना गर्यो र कालोसूचीमा रहेको भनी प्रचार गरियो।
यस निर्णयविरुद्ध हामीले उच्च अदालत पाटनमा रिट दायर गर्यौँ। अदालतले प्रमाणका आधारमा हामीले कानुनको पूर्ण पालना गरेको ठहर गर्यो र सफाइको मौका नदिई गरिएको जरिवाना प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको भन्दै आयोगको निर्णय बदर गरिदियो। त्यसैले हामीमाथि लगाइएको जरिवाना खारेज भएको छ।
यति स्पष्ट अदालतको फैसलापछि पनि सूची अद्यावधिक नगरी पुरानै सूची सार्वजनिक गरेर गरिएको दुष्प्रचार आपत्तिजनक छ। अदालतको पूर्ण फैसला आएको छ ! रिट नं.०८०-WO-०११३ को पूर्ण पाठ उपलब्ध छ । फैसला जानकारी सम्बन्धी फोटो पनी पहिलो कमेन्टमा छ ।’
निर्वाचनको मुखमा उम्मेदवारमाथि यसरी राजनीति नगर्न उनले निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै आग्रहसमेत गरेकी छन्।





