निजी क्षेत्रले उडान भर्ने वातावरण बनाउँदैछौं, त्रसित हुनु पर्ने कारण छैन: अर्थमन्त्री डा. वाग्ले

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ६ गते
निजी क्षेत्रले उडान भर्ने वातावरण बनाउँदैछौं, त्रसित हुनु पर्ने कारण छैन: अर्थमन्त्री डा. वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले इमान्दार र लगानीमुखी निजी क्षेत्रले त्रसित हुनुपर्ने कुनै कारण नरहेको बताएका छन्। सरकारले निजी क्षेत्रसँग सहकार्य गरेरै आर्थिक वृद्धि हासिल गर्ने स्पष्ट नीति लिएको उनले बताएका हुन्।

मंगलबार प्रतिनिधि सभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सरकार लगानी, उद्यम र उत्पादन विस्तारका लागि निजी क्षेत्रलाई सक्रिय रूपमा प्रोत्साहन गर्ने तयारीमा रहेको बताए।

‘इमान्दार र लगानीमुखी निजी क्षेत्रले कुनै चिन्ता लिनुपर्दैन। सरकारले स्वयं घरघर, ढोकाढोकामा पुगेर लगानी, उद्यम र उत्पादन विस्तारका लागि आह्वान गर्दैछ,’ उनले भने, ‘आवश्यक सहजीकरण, कानुनी सुधार र नीतिगत स्थायित्व दिन सरकार प्रतिबद्ध छ।’

अर्थमन्त्री वाग्लेले प्रभावकारी नियमन र सहजीकरणमार्फत निजी क्षेत्रलाई ‘उडान भर्ने वातावरण’ बनाउने सरकारको लक्ष्य रहेको उल्लेख गरे।

‘उपभोगमुखी, आयातमा निर्भर र सीमित अवसरमा आधारित अर्थतन्त्रलाई उत्पादन, नवप्रवर्तन र उद्यमशीलताद्वारा सञ्चालित गतिशील अर्थतन्त्रमा रूपान्तरण गर्नु हाम्रो लक्ष्य हो,’ उनले भने।

उनले भ्रष्टाचार, ढिलासुस्ती, बिचौलियातन्त्र र सार्वजनिक संस्थामाथिको अवैध प्रभावका कारण राज्यको लागत बढेको तथा नागरिकको विश्वास कमजोर बनेको उल्लेख गर्दै सरकारले प्रणाली सुधारमार्फत आर्थिक सुधारको बाटो समातेको बताए।

प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका केही सांसदहरूले पछिल्लो समय व्यवसायीहरू पक्राउ पर्ने क्रम बढेकाले निजी क्षेत्रको मनोबल कमजोर भएको टिप्पणी गरेका थिए। त्यसको जवाफमा अर्थमन्त्री वाग्लेले गलत काम गर्नेहरूमाथि सरकार कठोर रूपमा प्रस्तुत हुने स्पष्ट पारे।

‘राज्य, नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलेमतोमा देश दोहने प्रवृत्तिलाई अब संरक्षण गरिँदैन,’ उनले भने, ‘निजी उद्यमीको आवरणमा बदमासी गर्ने र आपराधिक गतिविधिमा संलग्न हुनेहरूको बचाउ नगर्न आग्रह गर्छु।’

उनले सरकारले सीमा नाघेर काम गरेको महसुस भए सचेत गराउन पनि आग्रह गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स