SHAREHUBSHAREHUB

मध्यपूर्वी एशियाको युद्धले विश्व अर्थतन्त्र सुस्त हुने संकेत, मुद्रास्फीति बढ्ने जोखिम

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १३ गते
AdvertisementAds
मध्यपूर्वी एशियाको युद्धले विश्व अर्थतन्त्र सुस्त हुने संकेत, मुद्रास्फीति बढ्ने जोखिम
AdvertisementAds

विश्वव्यापी अनिश्चितता, व्यापार अवरोध र नीतिगत अस्थिरताका कारण सन् २०२६ मा विश्व अर्थतन्त्रको विस्तार सुस्त हुने अनुमान गरिएको छ।

आर्थिक सर्वेक्षणले प्रविधिमा आधारित लगानी, अमेरिकी डलरको अवमूल्यन तथा विभिन्न मुलुकले अपनाएको अनुकूल वित्त नीतिका कारण सन् २०२५ मा विश्व अर्थतन्त्रमा देखिएको सुधार सन् २०२६ को फेब्रुअरीपछि मध्यपूर्वी एशियामा जारी युद्धका कारण कमजोर बनेको जनाएको छ।

प्रतिवेदनअनुसार युद्धको प्रभाव सन् २०२६ को मध्यसम्म कम भएमा मात्रै त्यसपछि विश्व अर्थतन्त्रले पुनः लय समात्न सक्ने देखिएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषलाई उद्धृत गर्दै प्रतिवेदनले मध्यपूर्वी एशियाको युद्ध लम्बिएर ऊर्जा पूर्वाधारमा थप क्षति पुगेमा सन् २०२६ मा विश्व आर्थिक वृद्धिदर २ प्रतिशतमा सीमित हुन सक्ने उल्लेख गरेको छ। त्यस्तै विश्वव्यापी उपभोक्ता मुद्रास्फीति ६ प्रतिशतभन्दा माथि पुग्ने जोखिम पनि औंल्याइएको छ।

विश्व वस्तु बजारमा अस्थिरता, आपूर्ति श्रृङ्खलामा अवरोध तथा इन्धनसहित अत्यावश्यक वस्तुको मूल्यवृद्धिका कारण विश्वव्यापी मुद्रास्फीतिमा थप दबाब परेको प्रतिवेदनमा उल्लेख छ। दुर्लभ खनिजजन्य तत्वमाथिको नियन्त्रण र व्यापारिक अवरोधका कारण विश्व आपूर्ति प्रणाली थप प्रभावित हुने आकलन गरिएको छ।

AdvertisementAds

विशेषगरी ऊर्जा मूल्य लगातार बढ्दै जाँदा मौद्रिक नीति सन्तुलनमा राख्न विश्वका केन्द्रीय बैंकलाई थप चुनौती हुने देखिएको छ।

यस्तै, मध्यपूर्वी एशियाको युद्धका कारण विप्रेषण आप्रवाह घट्ने सम्भावना रहेको र विदेशी मुद्रा सञ्चिति कमजोर भएका मुलुकमा आर्थिक संकट गहिरिन सक्ने जोखिम औंल्याइएको छ। विकासशील तथा अति कम विकसित मुलुकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आयात लागत बढ्ने तथा अन्तर्राष्ट्रिय विकास सहायता समेत घट्न सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनले विश्व अर्थतन्त्रलाई पुनः गतिशील बनाउन मूल्य तथा वित्तीय स्थायित्व कायम राख्दै संरचनात्मक सुधारलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स