यूनिभर्सल पावर कम्पनी लिमिटेडले स्थगित साधारण सभाको मिति पुनः तय गरेको छ। कम्पनीको सञ्चालक समितिको पुस २२ गतेको बैठकले सभा आगामी पुस ३० गते डाक्ने निर्णय गरेको हो। सभा ललितपुरको तीखेदेवलस्थित दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यूमा बिहान १० बजे सुरु हुनेछ।
यसअघि असोज ३० गते डाकिएको सभा गणपूरक संख्या नपुगेकाले स्थगित भएको थियो। सभामा कम्पनीका सेयरधनीका लागि ९ प्रतिशत बोनस सेयर र ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। साथै, चुक्तापूँजीको ९ प्रतिशत बोनस सेयर जारी गरेपछि कायम हुने चुक्तापूँजीको १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने र यस सम्बन्धी आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरिनेछ।
सभामा आव २०७९/८०, २०८०/८१ र २०८१/८२ का लागि सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित सो आवका वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, आव २०८०/८१ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने तथा आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पनि पारित गरिनेछ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीअनुसार २ जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव समेत सभामा पारित गरिनेछ। लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो, जसअनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भएका सेयरधनी मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।














प्रतिकृया