उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा करिब ४६ करोड ५२ लाख रुपैयाँ बराबरको क्लिङ्कर हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल र नायव महाप्रबन्धक महेश प्रसाद काफ्लेविरुद्ध १२ करोड ४७ लाख २२ हजार २४२ रुपैयाँ बिगो दाबी गर्दै आइतबार मुद्दा दायर गरेको हो।
त्यस्तै, तत्कालीन निमित्त महाप्रबन्धक नवल किशोर साह, उत्पादन महाशाखा प्रमुख संजय कुमार लाल, भण्डार महाशाखा प्रमुख महेश प्रसाद साह, क्लिङ्कर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख हरि प्रसाद अधिकारी र बिक्री विभाग प्रमुख राम बहादुर जीसीविरुद्ध जनही ४६ करोड ५२ लाख ७४ हजार ४२६ रुपैयाँ बिगो दाबी गरिएको अख्तियारले जनाएको छ।
अनुसन्धानका अनुसार, उद्योगमा क्लिङ्करको खपत कागजी रूपमा बढी देखाइएको भए पनि वास्तविक उत्पादन र मौज्दात कम रहेको पाइएको थियो। भौतिक परीक्षणमा कागजी रेकर्ड र वास्तविक भण्डारणबीच ठूलो अन्तर देखिएको अख्तियारले जनाएको छ। आर्थिक वर्ष २०७४/०७५ देखि २०७७ पुस मसान्तसम्म कुल ३८ हजार ७६९ मेट्रिक टन क्लिङ्कर हिनामिना भएको पुष्टि भएको छ।
अभियोगपत्रमा प्रतिवादीहरूले आपसी मिलेमतोमा सरकारी सम्पत्ति मास्ने बदनियत राखी कागजी मौज्दात बढी देखाउने तर वास्तविक भण्डारण कम गर्ने गरेको उल्लेख छ। मन्त्रालयको छानबिन प्रतिवेदनअनुसार सामान्यतया क्लिङ्कर र चुनढुङ्गाको उत्पादन अनुपात ०.७२५ हुनुपर्नेमा उदयपुर सिमेन्टमा उक्त अनुपात ०.६४९ मात्र देखिएको छ।
















प्रतिकृया