हिम स्टार उर्जा कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन
हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज असार १३ गते अन्तिम दिन हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जेठ ३० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो, जुन आज बैंकिङ समय पश्चात बन्द हुनेछ। कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात ११ लाख १९ हजार कित्ता सेयर निष्काशन गरिरहेको छ। यसमध्ये १ लाख ८६ हजार ५०० कित्ता सेयर ओखलढुङ्गा र सोलुखुम्बुका प्रभावित स्थानीय बासिन्दा तथा ९३ हजार २५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी डबल बी माइनस’ रेटिङ दिएको छ, जसले औसत जोखिम रहेको देखाउँछ। कम्पनीले निर्माण गरिरहेको ५ मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजना १ अर्ब २३ करोड रुपैयाँ लागतमा निर्माणाधीन छ, जसको साधारण लगानी फिर्ता हुने अवधि ७.१४ वर्ष र छुट मूल्यमा ११.७५ वर्ष रहेको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। स्थानीयहरूले ओखलढुङ्गा र सोलुखुम्बुका तोकिएका स्थानबाट तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सि–आस्बा प्रणाली वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। दरखास्त फाराम बापत आयोजनास्थित स्थानीयहरूलाई २ रुपैयाँ शुल्क लाग्नेछ।