चीनमा अहिले बेरोजगार युवाहरूले आफू काम गरिरहेको देखाउन नक्कली अफिस भाडामा लिन थालेका छन्। समाजमा बेरोजगार भएको कुरा भन्न लाज लाग्ने भएकाले उनीहरूले यस्तो उपाय अपनाएका हुन्। दैनिक ३० युआन अर्थात् करिब ४ डलर (५७० रूपैयाँ) तिरेर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बस्न सकिने अफिसको व्यवस्था छ, जहाँ खाना पनि दिइन्छ।
यो सेवा लिनेहरूले आफ्नो परिवार र साथीहरूलाई आफू अफिस जान्छु भनेर देखाउँछन्, तर वास्तवमा उनीहरू बेरोजगार हुन्छन्। कतिपय ठाउँमा ५० युआन (९५५ रूपैयाँ) तिरेर प्रमुख कार्यकारी अधिकृतको जस्तो फोटो खिच्न सकिने व्यवस्था पनि गरिएको छ, जहाँ चम्किलो कुर्सी र सुन्दर अफिस सेटअप हुन्छ।
यो विषयमा सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ। कसैले यसलाई मानसिक राहत दिने उपाय भनेका छन् भने केहीले यस्तो नाटकले समस्याबाट भाग्न मात्रै सिकाउँछ भन्ने टिप्पणी गरेका छन्।
चीनमा युवाहरूको बेरोजगारी दर धेरै उच्च छ। १६ देखि २४ वर्ष उमेर समूहमा बेरोजगारी दर सन् २०२३ को जूनमा २१.३ प्रतिशत पुगेको थियो। सरकारको दबाबपछि बेरोजगारीको तथ्यांक सार्वजनिक गर्न केही महिना रोकिएको थियो। पछि विद्यार्थीहरूलाई समेटिएर बनाइएको दर घटाएर नोभेम्बर २०२३ मा १६.१ प्रतिशत देखाइएको थियो।
बेरोजगार हुँदा मानिसहरूमा तनाव बढ्ने र आफूलाई असफल महसुस हुने भएकाले यस्तो नक्कली अफिसमा बसेर समय बिताउने प्रवृत्ति बढ्दो छ। धेरैजसोले यस्ता ठाउँमा बसेर नै जागिर खोज्ने वा काउन्सेलिङको सहारा लिनुपर्ने सुझाव दिएका छन्।
















प्रतिकृया