राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्र अहिले तीन वटा ठूला समस्यामा फसेको बताएका छन्। भट्टले यी समस्या समाधान नगरे दिगो आर्थिक वृद्धि सम्भव नहुने बताए।
उनले अर्थतन्त्रका मुख्य तीन ‘पासो’ यसरी व्याख्या गरेका छन्:
१. निजी क्षेत्र ऋणको पासो
निजी क्षेत्र अत्यधिक ऋणमा निर्भर भएको छ। बैंकिङ क्षेत्रबाट निजी क्षेत्रमा गएको ऋण जीडिपीको करिब ९२ प्रतिशत पुगेको छ। अन्य संस्थाको ऋणसमेत जोड्दा यो ११० प्रतिशतसम्म पुग्ने बताए। यस्तो अवस्था दीर्घकालीन रूपमा टिकाउ नहुने उनले बताए।
२. अनुत्पादक सम्पत्तिको पासो
निजी क्षेत्रले उत्पादनशील क्षेत्रमा लगानी बढाउन नसकेर अनुत्पादक सम्पत्तिमा पैसा फसाएको छ। यसले अर्थतन्त्रको गति सुस्त बनाएको उनको भनाइ छ ।
३. सरकारको दायित्वको पासो
सरकार आफैं ठूलो खर्चको दबाबमा छ। सामाजिक सुरक्षा खर्च बढ्दै गएको छ भने ऋणको साँवा–ब्याज तिर्न पनि ठूलो रकम खर्च भइरहेको छ। यसले बजेट व्यवस्थापन झन् चुनौतीपूर्ण बनाएको उनको भनाइ छ ।
भट्टले यी तीनवटै समस्या समाधान गर्न सरकार र निजी क्षेत्रले मिलेर काम गर्न आवश्यक भएको बताए। दिगो आर्थिक वृद्धि हासिल गर्न साझा एजेन्डा बनाउनु पर्नेमा उनले जोड दिए।
उनले विगतमा नीतिगत सुधार र लगानीका कारण आर्थिक वृद्धि सम्भव भएको उदाहरण दिँदै अबको विकासको आधार नवप्रवर्तन र डिजिटलीकरण हुनुपर्ने बताए।




















प्रतिकृया