नेप्सेको सीईओमा चापागाईंलाई नियुक्त गर्ने सहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु
सरकारले आगामी पाँच आर्थिक वर्षका लागि प्रदेश तथा स्थानीय तहलाई उपलव्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले आर्थिक वर्ष २०८२/८३ देखि २०८६/८७ सम्मका लागि राजस्व बाँडफाँटको आधार र ढाँचा स्वीकृत भएको जानकारी दिए। उनले बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेश तथा स्थानीय तहलाई उपलव्ध गराइने राजस्व बाँडफाँटको हिस्सा, अनुमानीत रकम र बित्तीय समानीकरण अनुदान रकम पनि स्वीकृत गरेको बताए।
मन्त्रिपरिषद्ले धुलिखेल अस्पताल ट्रमा र आपत्तकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट ५७ करोड ३० लाख जापानी येन अनुदान सहायता प्राप्त गर्ने निर्णय गरेको छ।
यसैगरी, नेपाल स्टक एक्सचेन्ज लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा चुडामणि चापागाईंलाई नियुक्त गर्ने निर्णय पनि भएको प्रवक्ता गुरुङले जानकारी दिए।
बैठकले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको कार्यकारी निर्देशक पदमा कृषि मन्त्रालयका वरिष्ठ अर्थविज्ञ डा. प्रद्युम्नराज पाण्डेलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। साथै, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानसम्बन्धी विधेयक तर्जुमा गर्न स्वीकृति दिइएको छ।
मन्त्रिपरिषद्ले म्यानमार सरकारलाई औषधि र अन्य राहत सामाग्री उपलब्ध गराउने र नेपाली सेनाको चिकित्सक टोली म्यानमार पठाउने निर्णय पनि गरेको छ।