इतिहासकै सबैभन्दा ठूलो IPO को कथा, के छ त्यस्तो Elon Musk को SPACE X मा ? [भिडियोसहित]

हाम्रोतिर एउटा चल्तीको उखान छ-‘आकासको फल आँखा तरी मर’। अर्थात्, जुन कुरा हाम्रो पहुँचभन्दा निकै टाढा छ, त्यसको प्राप्ति केवल कल्पनामा मात्र सीमित हुन्छ।

आम मानिसका लागि अन्तरिक्ष, मंगल ग्रह र ब्रह्माण्ड सधैँ यस्तै एउटा असम्भव ‘आकासको फल’ जस्तै थियो। तर विश्वकै सबैभन्दा जिद्दी र फरक सोच भएका उद्यमीमध्ये एकले त्यही आकासको फललाई धर्तीमा ल्याएर ‘गुन्द्रुक’ बेचेझैँ बेचिदिएका छन्।

ती व्यक्ति हुन् एलन मस्क। र कम्पनी हो– स्पेसएक्स।

एलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्स अहिले एउटा नयाँ अध्यायमा प्रवेश गरेको छ। लामो समय निजी कम्पनीका रूपमा सञ्चालन भएको यो कम्पनी गत शुक्रबार अमेरिकी सेयर बजारमा सूचीकृत भएको छ र यसको आईपीओले इतिहासकै सबैभन्दा ठूलो सार्वजनिक निष्काशनमध्ये एकको रेकर्ड बनाएको छ।

सन् २००२ मा स्थापना भएको स्पेसएक्सले दुई दशकभन्दा बढी समय निजी कम्पनीका रूपमा बितायो। यस अवधिमा कम्पनीमा लगानी गर्ने अवसर सीमित लगानीकर्ता र कर्मचारीसँग मात्र थियो। तर आईपीओपछि सर्वसाधारण लगानीकर्ता पनि कम्पनीको हिस्सेदार बन्न पाएका छन्।

स्पेसएक्सले आईपीओमार्फत मात्र ४.३ प्रतिशत सेयर जारी गरेर ७५ अर्ब अमेरिकी डलर उठाएको छ। कम्पनीले प्रतिकित्ता १३५ डलर मूल्यमा सेयर जारी गरेको थियो। यस क्रममा करिब ५५ करोड ५६ लाख कित्ता सेयर बिक्री गरिएको हो।

आईपीओपछि कम्पनीको कुल बजार मूल्यांकन करिब २ ट्रिलियन डलर बढी पुगेको छ। यससँगै स्पेसएक्स अमेरिकाको सबैभन्दा मूल्यवान सार्वजनिक कम्पनीमध्ये एक बनेको छ।

यो आईपीओले यसअघि रहेको सबैभन्दा ठूलो आईपीओको रेकर्ड तोडेको छ। यसअघि साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अराम्कोले सन् २०१९ मा आईपीओमार्फत २५.६ अर्ब डलर उठाउँदै सबैभन्दा ठूलो आईपीओको रेकर्ड बनाएको थियो।

स्पेसएक्सको सेयर सूचीकृत भएपछि लगानीकर्ताको आकर्षण निरन्तर देखिएको छ। आईपीओ मूल्य १३५ डलर तोकिएको कम्पनीको सेयरको पहिलो कारोबार १५० डलरबाट सुरु भएको थियो। पहिलो कारोबार दिनको अन्त्यसम्म कम्पनीको सेयर मूल्य १६०.९५ डलर पुगेको थियो।

मंगलबार सेयर मूल्यमा आएको तीव्र वृद्धिसँगै केही समयका लागि स्पेसएक्सले अमेजनलाई उछिन्दै विश्वको पाँचौँ सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको थियो। एआई कोडिङ कम्पनी कर्सर अधिग्रहणको घोषणा र अप्सन ट्रेडिङ सुरु भएपछि कम्पनीको मूल्यांकन २.९ ट्रिलियन डलरसम्म पुगेको थियो।

स्पेसएक्सको आईपीओमा सबैभन्दा ठूलो बहस कम्पनीको मूल्यांकनलाई लिएर भइरहेको छ। आखिर एउटा अन्तरिक्ष कम्पनीलाई बजारले किन १.७५ ट्रिलियन डलरभन्दा बढी मूल्य दिन तयार भयो?

यसको उत्तर केवल रकेट व्यवसायमा खोजेर पुग्दैन। स्पेसएक्स अहिले तीन फरक प्रकृतिका व्यवसायमा आधारित छ– स्टारलिङ्कको स्याटेलाइट इन्टरनेट सेवा, रकेट प्रक्षेपण व्यवसाय र एआई तथा डेटा पूर्वाधारसँग जोडिएको नयाँ विस्तार।

यीमध्ये कम्पनीको वर्तमान आम्दानीको सबैभन्दा ठूलो आधार भने स्टारलिङ्क हो।

स्पेसएक्सले आईपीओका क्रममा सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, सन् २०२५ मा कम्पनीको कुल आम्दानी १८.७ अर्ब डलर पुगेको थियो। यो अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशत बढी हो।

यस आम्दानीमध्ये सबैभन्दा ठूलो हिस्सा स्टारलिङ्कबाट आएको छ। कम्पनीको विवरणअनुसार, सन् २०२५ मा स्टारलिङ्कबाट मात्रै करिब ११ अर्ब डलरभन्दा बढी आम्दानी भएको थियो, जुन कुल आम्दानीको करिब ६० प्रतिशतभन्दा बढी हिस्सा हो।

पृथ्वीको तल्लो कक्षमा रहेका हजारौँ स्याटेलाइटमार्फत इन्टरनेट सेवा दिने स्टारलिङ्कले स्पेसएक्सको व्यापार मोडल नै परिवर्तन गरिदिएको छ। पहिले स्पेसएक्सको आम्दानी मुख्य रूपमा रकेट प्रक्षेपणमा निर्भर थियो। तर अहिले स्टारलिङ्कले कम्पनीलाई मासिक सदस्यतामा आधारित नियमित आम्दानी दिने व्यवसाय बनाएको छ।

सन् २०२६ को मार्च महिनासम्म स्टारलिंकका सक्रिय प्रयोगकर्ता १ करोड ३ लाख पुगेका छन्। रकेट उडानबाट कुनै एउटा सम्झौताबापत एकपटक मात्र पैसा आउँछ, तर स्टारलिंकले कम्पनीलाई हरेक महिना नियमित आम्दानी दिइरहेको छ। अहिले स्टारलिङ्कले कम्पनीको वित्तीय आधार बलियो बनाइरहेको छ।

सन् २०२५ मा मात्रै स्टारलिंकले ४.४२ अर्ब डलरको सञ्चालन नाफा कमाएको थियो। मस्कको यो इन्टरनेट कम्पनी ‘स्टारलिंक’ विगत लामो समयदेखि नेपाल आउन पनि खोजिरहेको छ।

उता रकेट उडानमा पनि स्पेसएक्सको एकाधिकार जस्तै छ।

कम्पनीको फाल्कन ९ रकेटले व्यावसायिक स्याटेलाइट, सरकारी मिसन र अन्तरिक्ष यात्रु ओसार्ने काम गर्दै आएको छ। सन् २०२५ मा मात्रै स्पेसएक्सले १६५ वटा फाल्कन ९ प्रक्षेपण गरेर वार्षिक रेकर्ड बनाएको थियो।

आज स्पेसएक्स विश्वकै सबैभन्दा व्यस्त रकेट कम्पनी बनेको छ। अहिले स्पेसएक्सले लगभग हरेक दुई दिनमा एउटा रकेट अन्तरिक्षमा पठाइरहेको छ। न्यु योर्क टाइम्सका अनुसार अमेरिकाबाट प्रक्षेपण हुने ६ रकेटमध्ये ५ वटा रकेट स्पेसएक्सकै हुन्छन्।

सानो स्याटेलाइट प्रक्षेपणको क्षेत्रमा पनि कम्पनीले छुट्टै स्थान बनाएको छ। पहिले कुनै देश वा कम्पनीले आफ्नो स्याटेलाइट अन्तरिक्षमा पठाउनुपर्दा पूरै रकेटको खर्च उठाउनुपर्ने अवस्था थियो। तर स्पेसएक्सको राइडसेयर सेवाले एउटै रकेटमा धेरै ग्राहकका स्याटेलाइट पठाउने सुविधा दिएको छ।

अर्कोतर्फ, स्पेसएक्स अमेरिकी सरकार र सेनाको सबैभन्दा ठूलो साझेदार बनिसकेको छ। नासा (NASA) को स्पेस स्टेसनमा मानिस ओसार्नेदेखि चन्द्रमामा पुग्ने ‘आर्टेमिस’ मिसनको यान बनाउनेसम्मको जिम्मा यसैले पाएको छ। साथै, अमेरिकी गुप्तचर संस्थाका लागि ‘स्टारसिल्ड’ (Starshield) जस्ता अति गोप्य जासुसी स्याटेलाइट उडाउने अर्बौं डलरका रक्षा सम्झौताहरू पनि स्पेसएक्सकै पोल्टामा छन्।

आम्दानी जति आकर्षक छ, खर्च र घाटाको तथ्यांक त्यति नै डरलाग्दो छ।

सन् २०२४ मा ७९ करोड डलर नाफा कमाएको स्पेसएक्स, सन् २०२५ मा आइपुग्दा ४.९ अर्ब डलर खुद घाटामा गयो। अझ सन् २०२६ को पहिलो तीन महिनामै कम्पनीले ४.३ अर्ब डलर घाटा व्यहोरेको छ। अर्थात्, कम्पनीले अर्बौं डलर आम्दानी गरे पनि भविष्यका ठूला योजनामा पैसा हाल्दा हालको नाफा दबाबमा परेको छ।

किन यति धेरै घाटा? यसलाई बुझ्न, मानौँ- स्पेसएक्सले जम्मा १०० रुपैयाँ आम्दानी गर्छ।

•  यो १०० रुपैयाँमध्ये ६१ रुपैयाँ सीधै ‘स्टारलिंक’ बाट आउँछ।

•  १७ रुपैयाँ मस्कको एआई कम्पनी ‘xAI’ र ‘X’ (पुरानो ट्विटर) बाट आउँछ।

•  अनि बाँकी २२ रुपैयाँ मात्र रकेट उडान र नासाका सम्झौताहरूबाट जुट्छ।

तर खर्चतर्फ:

ठूलो हिस्सा स्टारसिप विकास, एआई डेटा सेन्टर, स्याटेलाइट नेटवर्क विस्तार र अनुसन्धान तथा विकास मा भइरहेको छ।

अहिलेसम्म सार्वजनिक वित्तीय विवरण हेर्दा स्पेसएक्सको सबैभन्दा स्पष्ट नाफामूलक व्यवसाय स्टारलिंक देखिन्छ।। तपाईंलाई सुन्दा अचम्म लाग्ला, जुन रकेट उडानले स्पेसएक्सलाई संसारभर चिनायो, त्यही रकेट व्यवसायले अघिल्लो वर्ष ६५ करोड डलरको घाटा व्यहोरेको छ।

तर कम्पनीलाई घाटामा लैजाने व्यवसाय भने रकेटको व्यवसाय होइन। यो खर्चको सबैभन्दा ठूलो हिस्सा मस्कको महत्त्वाकांक्षी योजनाहरूमा गइरहेको छ।

गत फेब्रुअरीमा मस्कले स्पेसएक्सलाई आफ्नो एआई कम्पनी ‘xAI’ (जसले सामाजिक सञ्जाल ‘X’ लाई किनिसकेको थियो) सँग गाभ्ने निर्णय गरे। यो मर्जरसँगै उनले अन्तरिक्षमा ‘एआई डेटा सेन्टर’ (AI Data Center) बनाउने घोषणा गरेका छन्।

यही ‘एआई सेगमेन्ट’ अहिले स्पेसएक्सको लागि पैसा निल्ने ‘ब्ल्याक होल’ बनेको छ। सन् २०२५ मा यो युनिटले ६.४ अर्ब डलर घाटा व्यहोर्‍यो, जबकि यसको आम्दानी जम्मा ३.२ अर्ब डलर थियो।

झनै रोचक कुरा के छ भने, यो ३.२ अर्ब डलर आम्दानी ‘एआई’ ले कमाएको हुँदै होइन। फोर्ब्स को विश्लेषणअनुसार यसमध्ये करिब २.२६ अर्ब डलर त पुरानो ट्विटर (X) मा आउने परम्परागत विज्ञापनबाट आएको हो। बाँकी रकम ‘एक्स प्रिमियम’ का ४४ लाख र ‘सुपरग्रोक’ का १९ लाख प्रयोगकर्ताले तिरेको सब्सक्रिप्सनबाट आएको हो। अर्थात्, एआईको नाममा देखाइएको आम्दानी वास्तवमा सोसल मिडियाको आम्दानी हो।

यो मर्जरसँगै मस्कले कम्पनीका लक्ष्यहरूलाई झनै विशाल बनाएका छन्। उनी आफ्नो ‘ग्रोक’ (Grok) एआईलाई संसारकै सबैभन्दा शक्तिशाली (Trillions of parameters) बनाउन चाहन्छन्। यसका लागि पृथ्वीमा ‘कोलोसस’ डेटा सेन्टरहरू बनाइएको छ र सन् २०२६ को पहिलो त्रैमासिकमै एआईका लागि ७.७ अर्ब डलर पुँजीगत खर्च भइसकेको छ।

बाहिरबाट हेर्दा स्पेसएक्सले एआईको नाममा अर्बौं डलर पानीजस्तै बगाइरहेको जस्तो लाग्न सक्छ। तर, व्यापार र अर्थतन्त्रको चस्माबाट हेर्दा यो घाटा नभई आगामी शताब्दीकै ‘एकाधिकार’ (Monopoly) स्थापित गर्ने योजना देखिन्छ।

न्यु योर्क टाइम्सको रिपोर्टअनुसार, एआई बजारको अर्को ठूलो कम्पनी ‘एन्थ्रोपिक’ (Anthropic) ले गरेको सम्झौता नै यसको सबैभन्दा ठूलो प्रमाण हो। एन्थ्रोपिकले स्पेसएक्सका यिनै ‘कोलोसस’ डेटा सेन्टरहरूको कम्प्युटिङ पावर भाडामा लिन आगामी ३ वर्षसम्म हरेक महिना १.२५ अर्ब डलर तिर्ने सम्झौता गरेको छ।

एउटा पुरानो भनाइ छ “सुनको खोजीमा दौड चलिरहँदा, सबैभन्दा धेरै पैसा सुन खन्नेले होइन, बेल्चा र कोदालो बेच्नेले कमाउँछ।” मस्क एआईको दुनियाँमा त्यही ‘बेल्चा’ बनाइरहेका छन्। एआईको दौडमा चाहे एन्थ्रोपिकले नाफा कमाओस् वा ओपनएआईले बजार जितोस्, उनीहरूलाई चाहिने ‘कम्प्युटिङ पावर’ (डेटा सेन्टर) स्पेसएक्सकै होस् भन्ने मस्कको लक्ष्य छ। अमेजन (Amazon) ले जसरी AWS मार्फत इन्टरनेटको दुनियाँमा राज गर्‍यो, मस्क एआईको दुनियाँमा त्यही गर्ने योजनामा छन्।

यसबाहेक मस्क अब पृथ्वीको वरिपरि घुम्ने ‘अर्बिटल एआई डेटा सेन्टर’ सन् २०२८ सम्ममा लन्च गर्ने र चन्द्रमामा मानव बस्ती बसाउने तयारीमा छन्।

यो आईपीओको अर्को महत्त्वपूर्ण पक्ष सर्वसाधारण लगानीकर्ताको ठूलो सहभागिता हो। सामान्यतया अमेरिकी सेयर बजारमा यति ठूला सार्वजनिक निष्कासन हुँदा अधिकांश सेयर संस्थागत लगानीकर्ता र हेज फन्डहरूले मात्र प्राप्त गर्ने अभ्यास छ। सर्वसाधारण लगानीकर्ताका लागि प्रायः ५ देखि १० प्रतिशतसम्म मात्र हिस्सा छुट्याइने भए पनि स्पेसएक्सले यसपटक करिब ३० प्रतिशत सेयर रिटेल लगानीकर्ताका लागि छुट्याएको थियो।

यस अनुशार करिब ७५ अर्ब डलरको आईपीओमध्ये २२ अर्ब डलरभन्दा बढी मूल्य बराबरको सेयर रिटेल लगानीकर्ताले किन्न सक्ने व्यवस्था गरिएको थियो।

स्पेसएक्सले बजारबाट ७५ अर्ब डलर उठाएर १.७७ ट्रिलियन डलरको कीर्तिमानी मूल्यांकन त पायो, तर यो मूल्यांकन कम्पनीको पूरै सेयर बेचेर आएको भने होइन। अचम्मको कुरा के छ भने, स्पेसएक्सले आफ्नो कुल सेयरमध्ये जम्मा ४.३ प्रतिशत मात्रै बजारमा ल्याएको छ (जसलाई सेयर बजारको भाषामा ‘पब्लिक फ्लोट’ भनिन्छ)।

बाँकी ९५.७ प्रतिशत सेयर एलन मस्क, कम्पनीका पुराना लगानीकर्ता र कर्मचारीहरू संग ‘लक-अप’ (बिक्री गर्न नपाइने) अवस्थामा छ।

थोरै सेयरका लागि धेरै लगानीकर्ताले प्रतिस्पर्धा गर्दा माग बढ्ने र त्यसले मूल्यमा प्रभाव पार्ने सम्भावना हुन्छ। यही कारण कम फ्लोट भएको आईपीओमा सुरुवाती कारोबार निकै तीव्र हुन सक्छ। बजारमा किन्न चाहने धेरै हुन्छन्, तर बिक्रीका लागि उपलब्ध सेयर कम हुन्छन्। स्पेसएक्सको हकमा पनि यही अवस्था देखिएको छ।

ठूला प्रविधि कम्पनीहरूको विगतका आईपीओसँग तुलना गर्ने हो भने स्पेसएक्सको फ्लोट निकै कम हो। गुगलले आफ्नो आईपीओमा करिब १८ प्रतिशत सेयर सार्वजनिक गरेको थियो। फेसबुक र अलिबाबाले पनि करिब १५ देखि १९ प्रतिशतसम्म सेयर बजारमा ल्याएका थिए।

अहिले बजारमा उपलब्ध सेयर सीमित भए पनि भविष्यमा जब पुराना लगानीकर्ताको लक–अप अवधि सकिन्छ, स्पेसएक्सको थप सेयर बजारमा कारोबारमा आउने छ।

आईपीओको समयमा पुराना लगानीकर्ता, भेन्चर क्यापिटल फन्ड र कर्मचारीहरूले आफ्नो सेयर बिक्री गर्न पाएका छैनन्। अमेरिकी सेयरमा संस्थापक, कर्मचारी लगाएतको सेयर ९० देखि १८० दिनसम्म ‘लक-अप’ अबधिमा रहने व्यवस्था छ।

मस्कले स्पेसएक्सको आईपीओमा चरणबद्ध रुपमा लक-अप खोल्दै जाने नीति अपनाएका छन्। बजारमा नआएको त्यो ९५.७ प्रतिशत सेयर कसरी र कहिले खुल्छ भन्ने गणित यसप्रकार छ।

इन्भेस्टिङ डटकमका अनुसार साथीभाइ र परिवारका लागि छुट्याइएको ५ प्रतिशत सेयरमा कुनै पनि लक-अप नियम लागु नहुने उल्लेख छ।

त्यसपछि भने ठूला संस्थागत लगानीकर्तासंग भएको सेयर चरणबद्ध रुपमा कारोबारमा आउनेछ:

कम्पनीले आफ्नो दोस्रो त्रैमासिक (अप्रिल–जुन) को रिपोर्ट सार्वजनिक गरेपछि, पुराना लगानीकर्ताहरूले आफ्नो लक-अपमा रहेको सेयरको २० प्रतिशत हिस्सा बेच्न पाउनेछन्। संगै बजारमा सेयरको मूल्य आईपीओ मूल्य (१३५ डलर) भन्दा ३० प्रतिशत भन्दा बढी भएमा तत्कालै थप १० प्रतिशत सेयर बेच्न पाउनेछन्।

त्यसपछि आईपीओ जारी भएको ७०, ९०, १०५, १२० र १३५ औं दिनमा हरेक पटक थप ७ प्रतिशत का दरले सेयर खुला हुँदै जानेछ।

यसपछि तेस्रो त्रैमासिक रिपोर्ट आउनासाथ एकैपटक थप २८ प्रतिशत सेयर बजारमा आउनेछ। र, १८० दिन पुगेपछि बाँकी रहेको सम्पूर्ण सेयर बिक्रीका लागि पूर्ण रूपमा खुला हुनेछ।

यसको सिधा अर्थ के हो भने, आम सर्वसाधारणले बजारमा सेयर किनेर भाउ बढ्ने आस गरिरहँदा, स्पेसएक्सकै भित्री मान्छेहरू भने विस्तारै आफ्नो सेयर महँगोमा बेचेर बाहिरिने तयारीमा हुनेछन्।

यद्यपि, कम्पनीको करिब ४२ प्रतिशत सेयर स्वामित्व बोकेका स्वयम् एलन मस्कका लागि भने छुट्टै नियम छ। उनको सेयर ३६६ दिनसम्म पूर्ण रूपमा ‘लक-अप’ भित्रै रहनेछ। मस्कले आफु संग भएको सेयर एक वर्ष पछि मात्र बेच्न पाउनेछन्।

यति सबै हिसाबकिताब र अर्बौं डलरको कथा सुनिसकेपछि, तपाईंलाई पक्कै लाग्यो होला-आखिर को हुन् यी एलन मस्क?

संसारमा केही यस्ता मानिस हुन्छन्, जसले केवल व्यापार गर्दैनन्, उनीहरू मानिसहरूले भविष्यलाई हेर्ने तरिका नै बदल्ने प्रयास गर्छन्। एलन मस्क त्यस्तै नाम हो। कसैका लागि उनी प्रविधिको क्रान्तिकारी व्यक्ति हुन्, कसैका लागि अत्यन्त महत्वाकांक्षी उद्यमी।

यो कथा बुझ्न हामी आजको यो ‘ट्रिलियन डलर’ को झकिझकाउ दुनियाँबाट अलिकति पछाडि फर्किनुपर्छ। कथा सुरु हुन्छ, दक्षिण अफ्रिकाको प्रिटोरिया सहरबाट।

सन् १९७१ मा दक्षिण अफ्रिकाको प्रिटोरियामा जन्मिएका मस्क सानैदेखि विज्ञान र प्रविधिमा रुचि राख्थे। १२ वर्षको उमेरमै उनले कम्प्युटर गेम ‘ब्लास्टार’ बनाएर बिक्री गरेका थिए। पछि अवसर खोज्दै उनी क्यानडा हुँदै अमेरिका पुगे।

१९९० को दशकमा इन्टरनेट तीव्र रूपमा विस्तार हुँदै थियो र नयाँ कम्पनीहरू जन्मिरहेका थिए। मस्कले पनि यही परिवर्तनमा अवसर देखे।

सन् १९९५ मा उनले जिप२ नामक कम्पनी स्थापना गरे। जिप२ बिक्री भएपछि उनले अनलाइन भुक्तानी कम्पनी एक्स डटकम सुरु गरे, जुन पछि कन्फिनिटी नामक कम्पनीसँग मर्ज भयो। त्यसपछि कम्पनीले पेपाल विकास गर्‍यो।

तर त्यो सफलता उनको अन्तिम गन्तव्य बनेन।

सन् २००२ मा उनले स्पेसएक्स स्थापना गरे। निजी कम्पनीले अन्तरिक्ष क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने सोच त्यतिबेला नयाँ थियो। सुरुवाती चरणमा धेरै चुनौती र असफलतापछि स्पेसएक्सले पुनः प्रयोग गर्न मिल्ने रकेट प्रविधिमा सफलता हासिल गर्‍यो र अन्तरिक्ष उद्योगमा नयाँ अध्याय सुरु गर्‍यो।

विद्युतीय सवारीको भविष्य देख्दै मस्क सन् २००४ मा टेस्लामा प्रारम्भिक लगानीकर्ता बने। पछि उनले टेस्लाको नेतृत्व सम्हाले। आज टेस्लाले विद्युतीय सवारीको क्षेत्रमा विश्वव्यापी प्रभाव बनाएको छ।

उनका अन्य परियोजनामध्ये सन् २०१६ मा स्थापना गरिएको न्युरालिङ्कले मानव मस्तिष्क र कम्प्युटरबीच सम्बन्ध स्थापित गर्ने प्रविधिमा काम गरिरहेको छ भने द बोरिङ कम्पनीले भूमिगत यातायात प्रणालीमा काम गरिरहेको छ।

त्यस्तै स्पेसएक्सअन्तर्गतको स्टारलिङ्क परियोजनाले स्याटेलाइटमार्फत विश्वभर इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य राखेको छ। सन् २०२२ मा उनले सामाजिक सञ्जाल कम्पनी ट्विटर खरिद गरे, जसलाई पछि एक्स नाम दिइयो।

आज एलन मस्कको प्रभाव विद्युतीय गाडी, अन्तरिक्ष, इन्टरनेट, कृत्रिम बुद्धिमत्ता र मस्तिष्क प्रविधिसम्म फैलिएको छ।मस्कको १२ वर्षको उमेरमा एउटा कम्प्युटर गेमबाट सुरु भएको यात्रा आज विश्वकै सबैभन्दा चर्चित प्रविधि उद्यमीमध्ये एकको कथामा परिणत भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स