रोकिएको एमसीसी परियोजना फेरि अघि बढ्ने, अमेरिकाले दियो अनुमति
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालमा सञ्चालन हुने केही परियोजनाहरूलाई आंशिक रूपमा पुनः सुरु गर्न अनुमति प्रदान गरेको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए नेपाल) का अनुसार अमेरिकी सरकारले केही परियोजनालाई अघि बढाउने स्वीकृति दिए पनि यो अनुमति दीर्घकालीन हुने टुंगो लागेको छैन।
एमसीसी परियोजना ९० दिनको समीक्षा अवधिमा रहेकाले यसको निरन्तरताबारे अन्योल कायमै छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश अनुसार एमसीसीले नेपाल सरकारलाई पत्राचार गरी भुक्तानी रोक्ने जानकारी दिएको थियो। हाल रोकिएका परियोजनाहरू पुनः सुरु गर्न अनुमति प्राप्त भएको एमसीए नेपालले जनाएको छ।
नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा भएको सम्झौताअनुसार २०७९ भदौ १३ देखि परियोजना कार्यान्वयन सुरु भएको थियो। प्रारम्भिक सम्झौताअनुसार ६९ करोड ७० लाख डलर बराबरको परियोजनामा अमेरिकी सरकारले ५० करोड डलर र नेपाल सरकारले १९ करोड ७० लाख डलर व्यहोर्ने उल्लेख छ।
एमसीसी अन्तर्गत ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन, ३ वटा सबस्टेसन तथा ७७ किलोमिटर सडक स्तरोन्नति गरिनेछ। हाल धानखोला–लमही सडक सुपरिवेक्षणका लागि परामर्शदाता नियुक्ति प्रक्रिया अघि बढाइएको छ।
नेपालमा एमसीसी सुरु गर्ने बेलामा ठूलो विवाद भएको थियो। १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित नेपाल कम्प्याक्ट अनुमोदन गरिएको थियो। एमसीसी रोकिएपछि सरकारले बजेट व्यवस्थापनमा कठिनाइ भोग्नुपरेको छ। आगामी आर्थिक वर्षको १९ खर्ब बजेट सिलिङ बनाउन वैदेशिक अनुदान २२% र वैदेशिक ऋण ३०% ले वृद्धि गर्न राष्ट्रिय योजना आयोगले सुझाव दिएको छ।