पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य सञ्चालन र राजनीतिमा युवा पुस्ताको बढ्दो सहभागिता सकारात्मक संकेत भएको बताएका छन्। उनले शिक्षित, देशबारे सचेत र प्रविधिमा दक्ष युवाहरूको सक्रियताले राष्ट्रलाई प्रगतिको दिशामा अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
नयाँ वर्ष २०८३ को अवसरमा सोमबार स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिँदै उनले विगतका कमजोरी र त्रुटिहरू सच्याएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।
उनले पछिल्ला वर्षहरूमा देश अपेक्षित विकासभन्दा पछाडि परेको उल्लेख गर्दै राजनीतिक तथा प्रशासनिक संरचनामा गरिएका परिवर्तनहरू सतही मात्र भएको टिप्पणी गरेका छन्। दलीय राजनीतिको खिचातानीले राष्ट्रको विकास ओझेलमा परेको र देश प्रयोगशाला जस्तो बनेको उनको भनाइ छ।
पूर्वराजा शाहले देशको आर्थिक अवस्था सुधार गर्दै छिमेकी तथा मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउनु आवश्यक रहेको बताएका छन्। साथै, आन्तरिक सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनुपर्नेमा पनि उनले जोड दिएका छन्।
उनले परनिर्भरता घटाएर आत्मनिर्भर र स्वाधीन अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै स्वदेशी स्रोत, संस्कृति र मौलिक कलाको संरक्षण तथा प्रवर्द्धनले मात्र राष्ट्रको गौरव बढ्ने बताएका छन्।
निषेध, विभाजन र द्वन्द्वले देश कमजोर हुने भन्दै उनले संवाद, सहमति र सहकार्यका माध्यमबाट संवैधानिक समाधान खोज्न सबै पक्षलाई आह्वान गरेका छन्। साथै, नेपाललाई शान्ति र समृद्धिको मुलुकका रूपमा हेर्ने आफ्नो चाहना व्यक्त गर्दै सबै नेपालीका लागि न्याय, शान्ति र सुखको कामना गरेका छन्।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया