साञ्जेन जलविद्युत् आयोजनाको व्यावसायिक रूपमा उत्पादन गरिएको बिजुली सोमबार साँझदेखि राष्ट्रिय प्रणालीमा जोडिएको छ। चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडद्वारा निर्माण गरिएको यो आयोजना रसुवाको आमाछोदिङ्मो-५ मा अवस्थित छ र यसको क्षमता ४२.५ मेगावाट रहेको छ। आयोजनाले गत मङ्सिर ८ गतेदेखि परीक्षण उत्पादन सुरू गरेको थियो। सम्पूर्ण प्राविधिक परीक्षण सम्पन्न गरी पहिलो युनिटबाट उत्पादन गरिएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा व्यावसायिक रूपमा उपलब्ध गराइएको हो।
साञ्जेन जलविद्युत् आयोजना ‘क्यास्केड मोडल’मा निर्माण गरिएको अर्धजलाशय प्रकृतिको दुई आयोजनामध्ये एक हो। यस आयोजनाले व्यापारिक रूपमा ११ केभी क्षमताको आपत्कालीन प्रसारण लाइनमार्फत बिजुली प्रवाह गर्दै आएको थियो। कम्पनीले १३२/११ केभी सबस्टेसन र ८ किलोमिटर लामो ११ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरेको छ। चिलिमे-त्रिशूली ६६ केभी प्रसारण लाइनको सीमितताका कारण वैकल्पिक रूपमा करिब ८.५ मेगावाट विद्युत् बिक्री हुँदै आएको थियो।
यस आयोजनालाई निर्माणका क्रममा २०७२ सालको भूकम्प, कोभिड-१९, नाकाबन्दी, र राष्ट्रिय प्रसारण लाइनको अभावजस्ता समस्या भए पनि चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन पूरा भएपछि राष्ट्रिय प्रणालीमा बिजुली जोड्न सफल भएको कम्पनीले जनाएको छ।
साञ्जेन जलविद्युत् आयोजना नेपालमा निर्माण भइरहेका अर्धजलाशययुक्त आयोजनामध्ये एक नमुना आयोजना हो। आयोजनाको बाँधस्थलमा ४४ हजार घनमिटर क्षमताको ‘पिकिङ पोखरी’ निर्माण गरिएको छ, जसले साँझको समयमा थप बिजुली उत्पादन गर्न र प्रणालीलाई ७० मिनेटसम्म सहज बनाउन योगदान पुर्याउनेछ। यसले आपत्कालीन मर्मतसम्भार र ब्रेकडाउनको अवस्थामा पनि पावरहाउस सञ्चालन गर्न सहयोग पुर्याउनेछ।
विशेष प्रविधि जडान गरिएको यो आयोजना नेपालकै पहिलो हो, जसले क्यास्केड मोडलका तल्लो र माथिल्लो आयोजनाबीचको निर्भरता कम गर्ने क्षमता राख्छ। जर्मनीमा निर्माण भएको अत्याधुनिक उपकरणका कारण मर्मतसम्भारका बेला हुने आर्थिक क्षति न्यून गर्न यो आयोजना सक्षम छ।
साञ्जेन जलविद्युत् आयोजनालाई नेपालका क्यास्केड मोडल परियोजनामध्ये नमुना आयोजनाका रूपमा लिइएको छ। आयोजनाले जलविद्युत् विकास, नवीकरणीय ऊर्जा, हाइड्रोलोजी, र दिगो विकासजस्ता विषयमा अध्ययनरत विद्यार्थीका लागि प्रयोगात्मक अध्ययन तथा अनुसन्धानको अवसरसमेत प्रदान गर्नेछ।
कम्पनीले हिउँदका महिनामा बढी माग हुने विद्युत् प्रणालीमा असन्तुलन समाधान गर्न आयोजनाको व्यावसायिक उत्पादनले महत्त्वपूर्ण योगदान दिने विश्वास लिएको छ।



















प्रतिकृया