असार १६ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्दै तेह्रथुम पावर, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउने ?
तेह्रथुम पावर कम्पनी लिमिटेडले आगामी असार १६ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १ बराबर १ को अनुपातमा, प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ४० लाख कित्ता हकप्रद सेयर निष्काशनको अनुमति प्राप्त गरिसकेको छ। यसमार्फत कम्पनीले ४० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।
हकप्रद सेयरका लागि कम्पनीले जेठ ५ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, जेठ ४ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति साउन ४ गते तोकिएको छ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले लिएको छ। इच्छुक लगानीकर्ताहरूले नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ कार्यालय, नबिल बैंकको तेह्रथुमस्थित छथर, म्याङलुङ्ग, फेदाप र संक्रान्तिबजार शाखा, कुमारी बैंकको मेन्छयायम शाखा तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्।