प्रधानमन्त्री केपी शर्मा ओलीले अर्कोको काँधमा चढेर राज गर्ने दिन अब सकिएको दाबी गरेका छन्। आइतबार नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभामा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै यस्तो भनाइ व्यक्त गरे।
साथै, उनले अहिले नेपाली कांग्रेससँगको सरकार गठबन्धन नभइ समीकरण भएको बताए।
“अर्काको काँधमा चढेर म्याजिक नम्बरका नाममा धक्कु लगाएर मनपरितन्त्र चलाउने दिन सकिएको छ। त्यो दिन जानुपर्छ भन्ने उद्देश्यले नै नेकपा एमाले र नेपाली कांग्रेसले मिलेर अहिलेको समीकरण बनाएका छन्,” ओलीले भने।
उनले नेकपा एमाले र वर्तमान समीकरणले देशको विकास गर्ने र विकासको नेतृत्व एमालेले नै गर्ने दाबी गरे।
“हामीले त्यतिबेला सुरु गरेका कामहरू, जुन पछि रोकिएका थिए, अहिले फेरि अघि बढाएका छौं। ती कामहरू अघि बढाउन हामी अग्रसर छौं। विश्वास गर्नुस्, नेकपा एमालेले गर्छ, यसको नेतृत्वले गर्छ। अहिलेको सरकार नेकपा एमाले र नेपाली कांग्रेसको छ, यसले विकास गर्छ। किनभने देशको राजनीति अस्थिर भएको छ,” ओलीले भने। उनले थपे, “ठूला पार्टीहरू बीचको झगडाले मात्र अस्थिरता ल्याउने हो, अनि षड्यन्त्रकारी र भ्रष्ट तत्वहरू राज गर्ने हो भने हामी यसलाई सहन सक्दैनौं।”















प्रतिकृया