केपी ओलीले दायर गरेकाे रिट सर्वोच्चद्वारा खारेज

केपी ओलीले दायर गरेकाे रिट सर्वोच्चद्वारा खारेज

नेकपा एमाले विभाजन गरी एकीकृत समाजवादी गठन गर्ने निर्णयविरुद्ध पार्टी अध्यक्ष केपी शर्मा ओलीले दायर गरेका रिट निवेदनहरू सर्वोच्च अदालतले खारेज गरेको छ। सोमबार न्यायाधीश मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले ओलीका तर्फबाट दायर तीनवटै रिट निवेदन खारेज गर्ने निर्णय गरेको हो। यसमा लुम्बिनी प्रदेशसभामा दलको ह्वीप विपरीत मतदान गर्ने सांसदहरूमाथि कारबाही गर्न खोज्दा तत्कालीन सभामुख पूर्णबहादुर घर्तीले रोक लगाएको विषयमा दायर रिट पनि समावेश छ।

सर्वोच्च प्रशासनका अनुसार तीमध्ये एक निवेदनमा निर्देशनात्मक आदेश जारी गरिएको छ। २०७८ भदौ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य पर्याप्त हुने व्यवस्था गर्दै अध्यादेश जारी गरेको थियो। सोही अध्यादेशको आधारमा तत्कालीन एमालेबाट केन्द्रीय सदस्य र सांसदसहित २० प्रतिशतभन्दा बढी समर्थन जुटाएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेका थिए। निर्वाचन आयोगले २०७८ भदौ ९ गते दल विभाजनलाई औपचारिक मान्यता दिएको थियो।

ओलीले २०७८ भदौ १७ गते दायर गरेको रिट निवेदन सान्दर्भिकता गुमिसकेको भन्दै सर्वोच्च अदालतले खारेज गरेको हो। एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी पार्टी हाल माओवादी केन्द्रसहित दशभन्दा बढी कम्युनिष्ट घटकसँग एकता गर्दै गत कात्तिकमा नेपाली कम्युनिष्ट पार्टी गठन भइसकेको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स