नबिल बैंकको ‘एनबैंक’ एपबाट एसआइपी सेवा लिन सकिने

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ३ गते
नबिल बैंकको ‘एनबैंक’ एपबाट एसआइपी सेवा लिन सकिने
AdvertisementAds

नबिल बैंक लिमिटेडले आफ्नो डिजिटल बैंकिङ एप ‘एनबैंक’मा लगानीसम्बन्धी सेवा विस्तार गरेको छ। ग्राहकहरूलाई लगानी प्रक्रिया अझ सहज, सुरक्षित र डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यसहित यो सेवा सुरु गरिएको बैंकले जनाएको छ।

यो सेवा नबिल बैंक लिमिटेड र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबीच वैशाख ३१ गते भएको समझदारीपछि सुरु गरिएको हो। सम्झौता पत्रमा नबिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए।

बैंकले एउटै प्लेटफर्ममार्फत सम्पूर्ण वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यका साथ यो सुविधा सुरु गरेको हो। नयाँ सेवासँगै ग्राहकहरूले सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान (SIP) मा दर्ता हुन र किस्ता भुक्तानी गर्न मोबाइल एपबाटै सक्नेछन्।

एनबैंक प्रयोगकर्ताहरूले एपको होमपेजमा गई ‘इन्भेस्टमेन्ट’, ‘SIP’ वा ‘TMS’ आइकनमार्फत सेवा प्रयोग गर्न सक्नेछन्। यस सेवामा कुनै अतिरिक्त शुल्क नलाग्ने बैंकले स्पष्ट पारेको छ।

नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईंका अनुसार ग्राहकलाई सरल, पहुँचयोग्य र पूर्ण रूपमा डिजिटल लगानी सेवा प्रदान गर्नु नै बैंकको मुख्य उद्देश्य हो। यस सेवाले ग्राहकलाई लगानीतर्फ आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बैंकका अनुसार यस प्रणालीमार्फत विदेशमा रहेका नेपालीहरूले पनि नेपालको वित्तीय बजारमा सहज रूपमा सहभागी हुन सक्नेछन्।

नबिल बैंकले आफ्ना डिजिटल सेवाहरू निरन्तर विस्तार गर्दै एकीकृत वित्तीय प्लेटफर्म विकास गर्ने लक्ष्य लिएको छ। बैंकले हाल देशभर २६६ शाखा र ३१८ एटिएममार्फत सेवा दिँदै आएको छ भने २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

चार दशकदेखि बैंकिङ सेवा दिँदै आएको नबिल बैंकले पछिल्लो समय दिगो बैंकिङ अवधारणासँगै डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै ‘एनबैंक’लाई प्रमुख डिजिटल प्लेटफर्मका रूपमा विकास गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स