नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बुटवल पावर कम्पनी लिमिटेडलाई न्यादी हाईड्रोपावर लिमिटेडको ३१ लाख कित्ता सेयर बिक्री प्रक्रिया तत्काल रोक्न निर्देशन दिएको छ। सेबोनले २०८१ वैशाख ३१ गते बुटवल पावर कम्पनीलाई पत्र पठाउँदै सो बिक्री प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो।कम्पनीले वैशाख २४ गते एक सूचना जारी गर्दै आफ्नो स्वामित्वमा रहेको न्यादी हाईड्रोपावरको ३१ लाख कित्ता सेयर बिक्री गर्ने निर्णय सार्वजनिक गरेको थियो।
बोर्डका अनुसार बुटवल पावर कम्पनीका सञ्चालकहरू न्यादी हाईड्रोपावर लिमिटेडमा समेत सञ्चालक रहेको तथ्य देखिएको छ। यस्तो अवस्थामा धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) अनुसार हितको द्वन्द्व उत्पन्न हुने भएकाले उक्त सेयर बिक्री कार्य नियमविपरीत ठहरिएको छ।
सेबोनले बुटवल पावर कम्पनीलाई उक्त निर्णयको यथार्थ विवरण र आफ्नो धारणा स्पष्ट पार्न समेत आग्रह गरेको छ। हाललाई सेयर बिक्री प्रक्रिया रोक्न बोर्डले औपचारिक निर्देशन दिएको हो।



















प्रतिकृया