सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। सभा सञ्चालक समितिका अध्यक्ष प्रदीप सिग्देल (शर्मा) को अध्यक्षतामा सम्पन्न भएको हो।
साधारण सभाले अध्यक्ष शर्माले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा वार्षिक प्रतिवेदनसहित विभिन्न प्रस्तावहरू पारित गरेको छ।
सभामा सेयरधनीहरूले उठाएका जिज्ञासा, सल्लाह र सुझावबारे अध्यक्ष शर्माले स्पष्ट पारेका थिए। कार्यक्रममा पूर्वअध्यक्ष कृष्णबहादुर थापाले संस्थामा दक्ष कर्मचारीलाई कायम राख्ने रणनीति बनाउनुपर्ने र संस्थालाई वर्तमान परिस्थितिअनुसार अघि बढाउनुपर्ने सुझाव दिएका थिए। साथै, लगातार दुई वर्षदेखि लाभांश नपाएको भन्दै चालु आर्थिक वर्षमा लाभांश वितरण गर्ने दिशामा काम गर्न आग्रह गरेका थिए।
सभामा कुल १३५ जना सेयरधनीहरूको उपस्थिति रहेको थियो, जसले कुल कायम रहेको सेयरको ५२.२२ प्रतिशत अर्थात ३६,६०,०२२ कित्ता सेयर प्रतिनिधित्व गरेका थिए। उपस्थितमध्ये संस्थापकतर्फ २३ जना (१०,०२,४९२ कित्ता) प्रत्यक्ष सहभागी भएका थिए भने ८७ जना (२५,९१,३७५ कित्ता) प्रोक्सीमार्फत सहभागी भएका थिए।
त्यसैगरी, सर्वसाधारणतर्फ १९ जना (४३,८९८ कित्ता) प्रत्यक्ष उपस्थित र ६ जना (२२,२५७ कित्ता) प्रोक्सीमार्फत सहभागी भएको संस्थाले जनाएको छ।
संस्थाले हालसम्म देशका ४५ जिल्लामा १५५ शाखा कार्यालयमार्फत सेवा विस्तार गरिसकेको छ। यस सञ्जालमार्फत १ लाख ८३ हजारभन्दा बढी विपन्न परिवारमा पहुँच पुगेको छ।
व्यवसायिक तथ्यांकअनुसार संस्थाले हालसम्म २ अर्ब ९८ करोड रुपैयाँ बचत संकलन गरेको छ भने कुल कर्जा लगानी (लोन पोर्टफोलियो) १० अर्ब ७० करोड रुपैयाँ पुगेको छ।

प्रतिकृया