रास्वपाको सचिवालय बैठक आज बस्दै, यस्ता छन् छलफल हुने विषयहरु

रास्वपाको सचिवालय बैठक आज बस्दै, यस्ता छन् छलफल हुने विषयहरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक मंगलबार, दिउँसो २ बजे बस्दै छ। बैठकका लागि कुल १० वटा कार्यसूची तय गरिएको छ।

बैठकमा मुख्य रूपमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने अन्तिम मिति निर्धारण गर्ने कार्य हुनेछ, जसका लागि पार्टीले इच्छुक उम्मेदवारहरूको आवेदन सीमा तोक्नेछ। प्रवक्ता मनिष झालेका अनुसार, यसै बैठकमा उम्मेदवार सिफारिस उपसमिति र पार्टी समायोजन उपसमिति विस्तार गर्ने विषय पनि छलफल हुनेछ। उम्मेदवार सिफारिस उपसमितिको संयोजक डा. स्वर्णिम वाग्ले छन् भने पार्टी समायोजन उपसमितिको संयोजक महामन्त्री कविन्द्र बुर्लाकोटी हुन्।

साथै बैठकले केन्द्रीय समिति विस्तार गर्ने कार्यसूची तय गरेको छ। यसअघि आइतबार बसेको केन्द्रीय समिति बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको समूहबाट आएका २६ जनालाई र विवेकशील साझा पार्टीबाट आएका ७ जनालाई समिति सदस्यका रूपमा मनोनीत गरेको थियो।

त्यस्तै आजको बैठकमा निर्वाचन परिचालन समिति गठन, समानुपातिक उम्मेदवारको परिचालन कार्यविधि निर्माण, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेश र जिल्ला स्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम, र स्थानीय तह उम्मेदवार क्लब गठन जस्ता विषयहरूमा पनि छलफल हुने प्रवक्ता झाले बताए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स