रिडी पावर कम्पनी लिमिटेडले पाँचथरस्थित ९.९ मेगावाट क्षमताको इवा खोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन असार २६ गतेदेखि बन्द भएको जनाएको छ।
जेठदेखि परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले आयोजनाको हेडरेस पाइपलाइन रहेको क्षेत्रमा नदी कटान हुँदा पाइपलाइनका आधार संरचना (Anchor Blocks, Pipe Supports) तथा अन्य सिभिल संरचनामा क्षति पुगेको हो।
निरन्तर वर्षाका कारण पाइपलाइनमुनिको भागमा भूक्षय भई पाइपलाइनमा अत्यधिक दबाब सिर्जना हुँदा विभिन्न स्थानमा पाइप फुट्ने तथा चिरा पर्ने समस्या देखिएको कम्पनीले जनाएको छ।
कम्पनीले विभिन्न चरणमा मर्मत तथा परीक्षण गरी आयोजना पुनः सञ्चालनमा ल्याउने प्रयास गरे पनि परीक्षणका क्रममा फेरि पाइपलाइनमा क्षति देखिएको थियो। विस्तृत प्राविधिक मूल्याङ्कनपछि सामान्य मर्मत वा वेल्डिङबाट मात्र आयोजना सुरक्षित रूपमा सञ्चालन गर्न सम्भव नरहेको निष्कर्षमा पुगेपछि असार २६ गतेदेखि आयोजना बन्द गरिएको कम्पनीले जनाएको छ।
हाल स्थायी समाधानका लागि आवश्यक प्राविधिक अध्ययन तथा मर्मत कार्य भइरहेको कम्पनीले जनाएको छ। आयोजना पुनः सञ्चालन हुने मिति यकिन भएपछि अर्को औपचारिक सूचनामार्फत जानकारी गराइने पनि कम्पनीले उल्लेख गरेको छ।

प्रतिकृया