तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको बताएका छन् ।
अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा आज आयोजित ‘गोरखापत्र डिस्कोर्स’ को उद्घाटन समारोहमा मन्त्री खनालले बितेको तीन महिनाको तथ्याङ्कले नेपालको अर्थतन्त्र चलायमान भएको पुष्टि गर्ने धारणा राखेका छन् ।
युवापुस्ता जेनजीको आन्दोलनको तीन महिनामा नेपालको अर्थतन्त्रमा पुरुत्थान हुँदै गएको भन्दै उनले यस अवधिमा करिब १० प्रतिशतले राजस्व वृद्धि भएको जानकारी दिएका छन् ।
“गएको तीन महिनामा १० प्रतिशतको हाराहारीमा राजस्व वृद्धि भएको छ । उत्पादकत्व र उत्पादन वृद्धि भइरहेको छ, अन्तरिम सरकारले छोटो अवधिमा पनि सुधार गर्दै लगानीको वातावरण तयार गरेको भनेर चिनियाँ लगानीकर्ताले प्रशंसा गरिरहेका छन्”, अर्थमन्त्री खनालले भनेका छन् ।
मन्त्री खनालले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै यस क्षेत्रमा रहेको तरलता व्यवस्थापन र लगानीको वातावरण तयारका लागि सरकारले योजनाबद्ध काम गरिरहेको बताएका छन् ।





