रास्वपाले भन्यो, “गृहमन्त्रीको राजीनामा र छानबिन आयोग गठन नगरे संसद् चल्न दिदैनौं” 

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १३ गते
रास्वपाले भन्यो, “गृहमन्त्रीको राजीनामा र छानबिन आयोग गठन नगरे संसद् चल्न दिदैनौं” 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा संलग्नता रहेको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद शिशिर खनालले उक्त माग सार्वजनिक गर्दै संसद् चल्न नदिने चेतावनी दिएका हुन्।

खनालले यो कुनै सामान्य कर्मचारीद्वारा गरिएको घुस माग्ने घटना नभई संगठित भ्रष्टाचारको गम्भीर मुद्दा भएको बताए। “यो घटना म्यानपावर कम्पनीदेखि एयरलाइन्ससम्म, सामान्य कर्मचारीदेखि मन्त्रीको सचिवालयसम्म जोडिएको छ। प्रश्न गृहमन्त्रीमाथि उठेको छ, त्यसैले उहाँले तत्काल राजीनामा दिनुपर्छ,” खनालले संसद्मा भने।

उनले भिजिट भिसा प्रकरणमा निष्पक्ष अनुसन्धानका लागि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको पाटोलाई समेत समेट्ने गरी उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्नेमा जोड दिए। “जबसम्म यस्तो आयोग गठन हुँदैन, संसद् चल्न सक्दैन,” उनले स्पष्ट पारे।

खनालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत हुने छानबिन निष्पक्ष नहुने दाबी पनि गरे। “मोबाइल तथा अन्य उपकरणहरू गृह मन्त्रालय मातहतकै केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षणमा जाने भएकाले निष्पक्षता सुनिश्चित हुन सक्दैन,” उनले तर्क गरे।

यसैबीच, रास्वपाका सांसदहरूले गृहमन्त्रीको राजीनामा माग्दै संसद बैठकमै नाराबाजी गरेका थिए। सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद श्याम घिमिरेलाई बोल्न समय दिएपछि रास्वपाका सांसदहरूले आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेका थिए।

रास्वपाले सरकारमाथि दबाब बढाउँदै छानबिन आयोग गठन नभएसम्म संसद अवरुद्ध गर्ने चेतावनी दिइरहेको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स