सहकारी र सम्पत्ति शुद्धीकरण मुद्दामा रवि लामिछानेले कास्कीमा बुझे तारेख

सहकारी र सम्पत्ति शुद्धीकरण मुद्दामा रवि लामिछानेले कास्कीमा बुझे तारेख
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बुधबार कास्की जिल्ला अदालतमा उपस्थित भई तारेखमा बसेका छन्।

अदालतका सूचना अधिकारी रामबहादुर किसानका अनुसार लामिछानेले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा तारेख बुझेका हुन्। नख्खु कारागारबाट रिहा भएपछि यसअघि पनि उनी पुस ९ गते अदालतमा हाजिर भएर तारेखमा बसेका थिए।

उच्च अदालत बुटवलले लामिछानेको प्रस्तावअनुसार बिगो बराबर धरौटी बुझाएर रिहा गर्न आदेश दिएपछि उनले धरौटी रकम बुझाई नख्खु कारागारबाट रिहा भएका थिए।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित ६३ जनालाई विपक्षी बनाएर पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। उक्त मुद्दा हाल अदालतमा विचाराधीन छ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा कास्की प्रहरीले लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गरेको थियो। मुद्दा दर्तापछि जिल्ला अदालत कास्कीले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो, जसअनुसार उनले ६५ लाख रुपैयाँ धरौटी बुझाएका थिए।

जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम अपचलनमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दाबी गरेको छ भने सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो दाबी गरिएको छ।

लामिछानेविरुद्ध सूर्यदर्शन सहकारीका सर्वसाधारणले जम्मा गरेको बचत अवैध रूपमा गोर्खा मिडिया नेटवर्कमार्फत ग्यालेक्सी टेलिभिजनमा लगिएको आरोप छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स