आज बिहानैदेखि देशभर सार्वजनिक यातायात सेवा बन्द
राइड सेयरिङ रोक्नुपर्ने मागसहित सार्वजनिक यातायात व्यवसायीहरूले आज (सोमबार)देखि देशभर सार्वजनिक यातायात सेवा बन्द गरेका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले आइतबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै सवारी साधन ग्यारेजमै थन्क्याउने निर्णय गरेका थिए। सरकारसँग राखिएका मागहरूमा सुनुवाइ नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
सोमबार बिहानैदेखि बस, टेम्पो, ट्रक, मिनीबस, माइक्रोबस, जिपलगायतका सार्वजनिक सवारीसाधन चलेका छैनन्। अत्यावश्यकबाहेक सबै सेवामा अवरोध हुँदा काठमाडौं उपत्यकामा यसको प्रत्यक्ष असर देखिएको छ। गन्तव्यतर्फ हिँडेका यात्रुहरू सार्वजनिक सवारी नपाएर सडकमै अलपत्र परेका छन्।