प्रधानमन्त्री केपी शर्मा ओली र स्वीट्जरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। उक्त भेट प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो।
भेटमा दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझ सुदृढ बनाउँदै विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो।
विदेशमन्त्री क्यासिसले नेपालको विकास, सङ्घीयता सबलीकरण, संक्रमणकालीन न्याय, जलवायु परिवर्तन र विपद् जोखिम व्यवस्थापनमा स्वीस सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री ओलीले नेपालले लामो समय हिंसात्मक र अस्थिर राजनीतिक अवस्थाको सामना गरे पनि हाल दुई प्रमुख दलबीचको सहकार्यमा विकास, सुशासन र लोकतान्त्रिक प्रणालीको सुदृढीकरणतर्फ सरकार अग्रसर रहेको उल्लेख गरे। साथै, नेपालको विकासमा स्वीस सरकारको निरन्तर सहयोगप्रति आभार प्रकट गरे।
भेटका क्रममा नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. डानियल मेउल्ली, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।















प्रतिकृया