दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी क्रमशः देशभर विस्तार गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र मधेसी आयोगका पदाधिकारीबीच छलफल भएको छ।
मन्त्रालयमा भएको छलफलमा दाइजोविरुद्धको अभियानलाई प्रभावकारी बनाउन आवश्यक राय, सुझाव र सहकार्यका विषयमा विचारविमर्श गरिएको हो। अभियानलाई समुदायस्तरसम्म पुर्याउँदै मधेशबाट सुरु गरेर देशभर विस्तार गर्ने विषयमा समेत छलफल भएको छ।
दाइजो प्रथा महिलामाथिको आर्थिक तथा सामाजिक शोषण, लैङ्गिक विभेद र घरेलु हिंसासँग जोडिएको गम्भीर सामाजिक कुरीति भएकाले यसको अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेकोमा जोड दिइएको छ।
मन्त्री बादीले ‘दाइजोमुक्त नेपाल’ निर्माण सरकारको मात्र नभई सम्पूर्ण समाजको साझा राष्ट्रिय अभियान हुनुपर्ने बताइन। परिवार र समुदायबाटै चेतना विस्तार गर्दै युवा, महिला, स्थानीय तह, शैक्षिक संस्था, सामाजिक तथा धार्मिक अगुवा, नागरिक समाज र सञ्चारमाध्यमलाई अभियानमा जोड्नुपर्ने उनको भनाइ छ।
यसअघि प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीसँग पनि दाइजो प्रथा अन्त्य तथा ‘दाइजोमुक्त नेपाल’ अभियानबारे छलफल भएको मन्त्री बादीले जानकारी गराइन। आगामी दिनमा अन्य सरोकारवालासँग समेत परामर्श गरी प्राप्त सुझावका आधारमा अभियान अघि बढाइने बताइएको छ।
छलफलमा मधेसी आयोगले मधेशमा महिला तथा बालबालिकाले भोगिरहेका बालविवाह, घरेलु तथा लैङ्गिक हिंसा, शिक्षा तथा स्वास्थ्यमा पहुँचको कमी, बोक्सीको आरोपमा हुने हिंसा, बालश्रम तथा बालशोषण, मानव बेचबिखन, नागरिकता तथा पहिचानसम्बन्धी समस्या र महिलाको निर्णय प्रक्रियामा न्यून सहभागितालगायतका विषयमा सुझाव दिएको थियो।
दाइजो नलिने र नदिने संस्कारको विकास, समुदायस्तरमा निरन्तर जनचेतना विस्तार, युवाको नेतृत्व तथा सहभागिता वृद्धि र तीनै तहका सरकारबीच प्रभावकारी समन्वय गर्ने विषयमा पनि छलफल भएको छ।
मन्त्रालयले सरोकारवालासँग थप छलफल तथा परामर्श गरी प्राप्त सुझाव समेटेर ‘दाइजोमुक्त नेपाल’ अभियान मधेशबाट सुरु गर्दै क्रमशः देशव्यापी बनाउने जनाएको छ।
प्रतिकृया