पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचनमा देशमा आगजनी, भ्रष्टाचार, कुशासन र दमन मच्चाउने शक्तिलाई जनताले पराजित गर्ने बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहालले शनिबार रुकुम पूर्वको चुनवाङमा आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो धारणा व्यक्त गरेका हुन्।
सम्बोधनका क्रममा उनले हालै सम्पन्न बंगलादेशको निर्वाचन परिणामबारे पनि टिप्पणी गर्दै आगो र ध्वंसको राजनीतिले अन्ततः पराजय भोग्ने बताए। ‘सिंहदरबार, संसद् भवन जले, सर्वोच्च अदालत जल्यो, निजी सम्पत्ति र सर्वसाधारणका घर जले। अब आगो लगाउने र ध्वंस मच्चाउनेहरू हार्नेछन्, गणतन्त्र र परिवर्तन ल्याउनेहरू जित्नेछन्,’ उनले भने।
उनले बंगलादेशको उदाहरण दिँदै आगजनी गर्नेहरूले नै चुनाव जित्छन् भन्ने धारणा गलत सावित भएको बताए। ‘बंगलादेशमा पनि आगो लगाइयो, तर आगो लगाउनेहरू नै हारे। नजलाउने र स्थिरता चाहनेहरू विजयी भए,’ उनले भने, ‘सामाजिक सञ्जालमा लाखौं फलोअर्स भएका भनिएका व्यक्तिहरू पनि तेस्रो स्थानमा पुगे। यहाँ पनि हल्ला फैलाउनेहरूको हिसाब जनताले राखिरहेका छन्।’
संयोजक दाहालले आगजनी, कुशासन, दमन र हिंसा मच्चाउने शक्तिलाई रोल्पा–रुकुमका जनताले राम्रोसँग बुझेको उल्लेख गर्दै अब देशभरिका मतदाताले पनि यथार्थ पहिचान गर्ने विश्वास व्यक्त गरे। ‘तपाईंहरूले बुझ्नुभएको छ, अब देशभरिका जनताले पनि बुझ्नेछन्,’ उनले भने।





















प्रतिकृया