विद्युत् प्रयोग बढ्दा पेट्रोलियम आयात घट्यो, पेट्रोल–डिजेल खपतमा दोहोरो अंकको गिरावट

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १३ गते
विद्युत् प्रयोग बढ्दा पेट्रोलियम आयात घट्यो, पेट्रोल–डिजेल खपतमा दोहोरो अंकको गिरावट

नेपालमा विद्युत् पहुँच र प्रयोग विस्तार भएसँगै पेट्रोलियम पदार्थको आयात तथा खपतमा उल्लेखनीय गिरावट देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म पेट्रोल, डिजेल, एलपी ग्यासदेखि मट्टितेलसम्मका अधिकांश इन्धनको आयात दोहोरो अंकले घटेको सरकारी तथ्यांकले देखाएको छ।

सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुनसम्म पेट्रोलको आयात १० प्रतिशतले घटेर ४३८ हजार किलोलिटरमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४८७ हजार किलोलिटर पेट्रोल आयात भएको थियो।

त्यस्तै, डिजेल आयात पनि ९.९ प्रतिशतले घटेर ७९१ हजार किलोलिटरमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा ८७८ हजार किलोलिटर डिजेल आयात गरिएको थियो। पेट्रोलियम पदार्थमध्ये सबैभन्दा ठूलो गिरावट मट्टितेलमा देखिएको छ। मट्टितेल आयात ४७.७ प्रतिशतले घटेर ५ हजार किलोलिटरमा सीमित भएको छ।

हवाई इन्धन (एटीएफ) को आयात पनि ८.६ प्रतिशतले घटेको छ। फागुनसम्म १२७ हजार किलोलिटर एटीएफ आयात भएको छ, जबकि गत वर्ष सोही अवधिमा १३९ हजार किलोलिटर आयात भएको थियो।

खाना पकाउने ग्यासको आयातमा पनि कमी आएको छ। एलपी ग्यास आयात ११.१ प्रतिशतले घटेर ३२२ हजार मेट्रिक टनमा सीमित भएको छ। गत वर्ष फागुनसम्म ३६३ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको थियो।

आयातसँगै आन्तरिक बिक्रीमा पनि गिरावट देखिएको छ। फागुनसम्म पेट्रोल बिक्री ६.४ प्रतिशत र डिजेल बिक्री ८.७ प्रतिशतले घटेको छ। एलपी ग्यासको बिक्री १०.४ प्रतिशतले घटेको छ भने एटीएफ बिक्री ९.३ प्रतिशतले घटेको छ।

विद्युतीय सवारीसाधनको प्रयोग विस्तार, उद्योग तथा घरायसी क्षेत्रमा विद्युत् खपत बढ्नु र इन्डक्सन चुलोजस्ता विद्युतीय उपकरणको प्रयोग बढ्नुले पेट्रोलियम पदार्थको माग घटाउन सहयोग पुगेको हो।

नेपालमा हाल ९९ प्रतिशतभन्दा बढी जनसङ्ख्यामा विद्युत् पहुँच पुगिसकेको छ भने देशको कुल जडित विद्युत् क्षमता ४ हजार १ सय ५ मेगावाट पुगेको छ। आन्तरिक विद्युत् उत्पादन बढेसँगै भारततर्फ विद्युत् निर्यातसमेत तीव्र रूपमा बढिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स