नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर बजारको कारोबार प्रणाली र लगानीकर्ताको विवरणलाई थप सुरक्षित बनाउन ‘आईटी अडिट गाइडलाइन २०२६’ लागू गरेको छ। अब सबै ब्रोकर कम्पनीहरूले आफ्नो सूचना प्रविधि प्रणालीको अनिवार्य रूपमा लेखा परीक्षण (आईटी अडिट) गराउनुपर्ने भएको छ।
सेयर बजार अहिले पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित भएकाले ह्याकिङ, डाटा चुहावट वा प्राविधिक कमजोरी जस्ता जोखिमलाई कम गर्न यो व्यवस्था ल्याइएको नेप्सेले जनाएको छ।
नयाँ व्यवस्था अनुसार सबै ब्रोकर कम्पनीले प्रत्येक दुई वर्षमा कम्तिमा एक पटक आईटी अडिट गराउनुपर्छ। हाल सञ्चालनमा रहेका ब्रोकरहरूले निर्देशिका जारी भएको ६ महिनाभित्र अडिट पूरा गरेर नेप्सेमा प्रतिवेदन बुझाउनुपर्नेछ भने नयाँ अनुमति पाएका ब्रोकरहरूले कारोबार सुरु गरेको ६ महिनाभित्र पहिलो अडिट गर्नुपर्नेछ। यदि कुनै ब्रोकरले आफ्नो प्रणालीमा ठूलो परिवर्तन वा सुधार गरेमा सोही वर्ष पुनः अडिट गराउनुपर्ने व्यवस्था पनि गरिएको छ।
अडिटका क्रममा ब्रोकरहरूले प्रयोग गर्ने ट्रेड म्यानेजमेन्ट सिस्टम (TMS), ब्याक अफिस सिस्टम, मोबाइल एप, वेबसाइट र नेटवर्क पूर्वाधारको सुरक्षा र विश्वसनीयता जाँच गरिनेछ। साइबर सुरक्षा नीति, डाटा सुरक्षा र ब्याकअप प्रणाली, अनधिकृत पहुँच नियन्त्रण तथा विपद्का बेला सेवा निरन्तर सञ्चालन गर्न सक्ने क्षमताजस्ता विषयमा विशेष ध्यान दिइनेछ।
नेप्सेले अडिट गर्ने कम्पनीको योग्यता पनि तोकेको छ। अडिट गर्ने फर्म नेपालमा दर्ता भएको, कर चुक्ता गरेको र बैंक, बीमा वा पूँजी बजार क्षेत्रमा कम्तिमा एकपटक सूचना प्रणाली अडिट गरेको अनुभव भएको हुनुपर्नेछ। साथै सो फर्ममा सूचना सुरक्षा र साइबर सुरक्षासम्बन्धी दक्ष जनशक्ति अनिवार्य हुनुपर्नेछ।
निर्देशिका पालना नगर्ने वा तोकिएको समयभित्र प्रतिवेदन नबुझाउने ब्रोकरहरूलाई प्रचलित नियम अनुसार कारबाही गरिने उल्लेख छ।
















प्रतिकृया