काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा अहिले धमाधम उम्मेदवारको मनोनयन दर्ता भइरहेको छ ।

काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ मनोनयन दर्ता भइरहेको छ । उम्मेदवारी दर्तालाई व्यवस्थित र मर्यादित तुल्याउन सर्वदलीय सहमतिका आधारमा निर्वाचनमा भाग लिने पार्टी र उम्मेदवारलाई फरक–फरक समय तोकिएको उनले जानकारी दिएका छन् । मनोनयन दर्ता आज अपराह्न ५ बजेसम्म हुनेछ ।

हालसम्म प्राप्त जानकारीअनुसार काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा दुई जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् । मुख्य निर्वाचन अधिकृत खड्काका अनुसार क्षेत्र नं १ मा एक स्वतन्त्र र राप्रपाका तर्फबाट उम्मेदवारी दर्ता भइसकेको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं १० मा राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेदवारको मनोनयन दर्ता भइसकेको छ । निर्वाचन क्षेत्र नं ६ मा राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवारी दर्ता भइसकेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका छन् । काठमाडौँ क्षेत्र नं १ मा सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वर, क्षेत्र नं २ मा कागेश्वरी मनोहरा नगरपालिका भवन, क्षेत्र नं ३ मा गोकर्णेश्वर नगरपालिकाको वडा नं ४ को कार्यालय, क्षेत्र नं ४ मा बूढानीलकण्ठ नगरपालिकाको ज्येष्ठ नागरिक समाज भवन चपलीमा मनोनयन दर्ता भइरहेको छ ।

काठमाडौँ क्षेत्र नं ५ का लागि टोखा नगरपालिकाको श्री समाज भवन, क्षेत्र नं ६ को तारकेश्वर नगरपालिकाको भवन धर्मस्थली, काठमाडौँ क्षेत्र नं ७ का लागि बहुउद्देश्यीय मार्सल आर्टस केन्द्र जुडोहल खुसिबु बालाजु, क्षेत्र नं ८ को नार्गाजुन नगरपालिकाको नगरपालिका भवन, क्षेत्र नं ९ को चन्द्रागिरि नगरपालिकाको भवन र क्षेत्र नं १० का लागि कीर्तिपुर नगरपालिकाको वडा नं २ को भवन बाघभैरवमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका छन् ।

मुलुकभरका १६५ निर्वाचन क्षेत्रमा आज उम्मेदवारको मनोनयन दर्ता चलिरहेको निर्वाचन आयोगले जनाएको छ । यसपटकको निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् भने मतदान स्थल १० हजार ९६७ र मतदान केन्द्र २३ हजार ११२ निर्धारण गरिएको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स