नेपालमा बचत गर्ने प्रवृत्तिमा सुधार देखिएको छ। चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य बचत कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ९.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ। गत आर्थिक वर्ष यस्तो बचत ६.९ प्रतिशत रहेको थियो।
आर्थिक सर्वेक्षणअनुसार चालु वर्ष कुल गार्हस्थ्य बचतमा २.८ प्रतिशत विन्दुले सुधार हुने देखिएको हो। पछिल्लो दशकमा जीडीपीको अनुपातमा कुल गार्हस्थ्य बचत औसत ९.२ प्रतिशत रहेको उल्लेख गरिएको छ।
यद्यपि नेपालको अर्थतन्त्र अझै पनि उपभोगमुखी नै रहेको प्रतिवेदनले देखाएको छ। पछिल्लो दशक कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको हिस्सा औसत ९०.८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष ९०.३ प्रतिशत रहने अनुमान गरिएको छ। गत आर्थिक वर्ष कुल उपभोग ७.४ प्रतिशतले बढेकोमा चालु वर्ष ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ।
निजी उपभोगतर्फ अझै पनि खाद्य वस्तुमै सबैभन्दा धेरै खर्च हुने देखिएको छ। चालु आर्थिक वर्ष कुल निजी उपभोगमध्ये खाद्य वस्तुको हिस्सा ४८.३० प्रतिशत रहने अनुमान गरिएको छ। त्यस्तै गैरखाद्य वस्तुको हिस्सा १८.४६ प्रतिशत र सेवातर्फको हिस्सा ३३.२४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।
गत आर्थिक वर्ष कुल निजी उपभोगमा खाद्य वस्तुको हिस्सा ४८.८४ प्रतिशत, गैरखाद्य वस्तुको १८.३४ प्रतिशत र सेवाको ३२.८२ प्रतिशत रहेको थियो।
प्रतिवेदनले नेपाली उपभोक्ताको खर्च संरचनामा खाद्य वस्तुको हिस्सा अझै उच्च रहे पनि सेवा तथा गैरखाद्य क्षेत्रमा खर्च विस्तारै बढ्न थालेको संकेत गरेको छ।




















प्रतिकृया