SHAREHUBSHAREHUB

इरानमा नेपाली नागरिक अमृत झा अझै थुनामै, रिहाइको गलत जानकारी सार्वजनिक भएकोमा परराष्ट्रको माफी

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ४ गते
AdvertisementAds
इरानमा नेपाली नागरिक अमृत झा अझै थुनामै, रिहाइको गलत जानकारी सार्वजनिक भएकोमा परराष्ट्रको माफी
AdvertisementAds

इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा अझै थुनामै रहेको खुलासा भएपछि परराष्ट्र मन्त्रालयले उनी रिहा भएको भन्दै यसअघि सार्वजनिक गरिएको जानकारीप्रति माफी मागेको छ।

सोमबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै झाविरुद्धको मुद्दा इरानको स्थानीय अदालतमा विचाराधीन रहेको र उनी हालसम्म रिहा नभएको स्पष्ट पारेको हो। यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले झा रिहा भएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए।

मन्त्रालयका अनुसार गत अप्रिल १५ मा इरानका लागि नेपाली अनररी कन्सल साहराम सान्तिएले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भएको अनौपचारिक जानकारी दिएका थिए। सोही सूचनाका आधारमा सम्बन्धित महाशाखाले परराष्ट्रमन्त्री र सचिव अमृतबहादुर राईलाई जानकारी गराएको थियो। झाको परिवारलाई समेत त्यही जानकारी दिइएको मन्त्रालयले जनाएको छ।

उक्त सूचनालाई आधार मानेर मन्त्रालयले झा रिहा भएको उल्लेख गर्दै विज्ञप्ति जारी गरेको थियो भने परराष्ट्रमन्त्री खनालले पनि सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गरेका थिए। तर त्यसपछि झा रिहा नभएको पुष्टि भएपछि मन्त्रालयले आफ्नो त्रुटिप्रति माफी मागेको हो।

मन्त्रालयले झालाई नेपाल फर्काउने प्रक्रिया अघि बढाउन दोहास्थित नेपाली दूतावासलाई लिखित प्रमाण उपलब्ध गराउन निर्देशन दिएको थियो। तर केही दिनपछि मात्रै झा अझै हिरासतमा रहेको जानकारी प्राप्त भएको मन्त्रालयको भनाइ छ।

AdvertisementAds

झा इरानको क्वेसहम् टापुमा अवैध सामान तस्करी तथा ओसारपसारको आरोपमा पक्राउ परेको मन्त्रालयले जानकारी दिएको छ। हाल उनी बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेका छन्।

मन्त्रालयका अनुसार इरानी अदालतले घटनाबारे विज्ञ प्रतिवेदन तयार गर्न आदेश दिएको छ। गठित विज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ।

परराष्ट्र मन्त्रालयले झाको मुद्दामा निष्पक्ष सुनुवाइ सुनिश्चित गर्न तथा आवश्यक कूटनीतिक पहल जारी राखिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स