नेपाली व्यवसायी दीपेश कार्कीको ‘लेनदेन क्लब’ आईपीओको तयारीमा
नेपाली व्यवसायी दीपेश कार्की सह–संस्थापक रहेको भारतको पियर–टु–पियर (पी–टु–पी) कर्जा प्लेटफर्म ‘लेनदेन क्लब’ आईपीओ ल्याउने तयारीमा जुटेको छ।
भारतीय रिजर्भ बैंक (आरबीआई) ले सन् २०२४ मा पी–टु–पी लेन्डिङमा कडा नियम लागू गरेपछि भारतका धेरै प्लेटफर्म बन्द भएका थिए। यही अवस्थामा लेनदेन क्लब भने सबै नियम पालना गर्दै अघि बढ्न सफल भएको छ। हाल कम्पनीले भारतको करिब ९५ प्रतिशत पी–टु–पी बजार हिस्सा ओगटेको दाबी गरेको छ।
विराटनगरमा जन्मेका दीपेश कार्की र उनका साथी भविन पटेलले सन् २०२५ मा मुम्बईमा लेनदेन क्लब स्थापना गरेका हुन्। कार्की कम्पनीका प्रमुख प्रविधि अधिकृत (CTO) छन् भने पटेल प्रमुख कार्यकारी अधिकृत (CEO) हुन्।
कम्पनीले आगामी १८ देखि ३६ महिनाभित्र आईपीओ ल्याउने योजना बनाएको छ। आईपीओपछि भारतमा सूचीकृत हुने पहिलो पी–टु–पी कर्जा प्रदायक बन्ने लक्ष्य कम्पनीको छ।
आर्थिक वर्ष २०२५ मा लेनदेन क्लबले २ अर्ब ३६ करोड भारु आम्दानी र ३४ करोड भारु नाफा कमाएको छ। चालु वर्षमा आम्दानी ३ अर्ब २० देखि ३ अर्ब ५० करोड भारु र नाफा ५० देखि ६० करोड भारु पुग्ने अपेक्षा गरिएको छ।
हालसम्म लेनदेन क्लबमार्फत १ खर्ब ७६ अर्ब भारु कर्जा वितरण भइसकेको छ भने ३ करोड २५ लाखभन्दा बढी प्रयोगकर्ता प्लेटफर्मसँग जोडिएका छन्।
आईपीओको तयारीका लागि कम्पनीले आन्तरिक पुनर्संरचना र लेखा प्रणाली सुधारको काम पनि सुरु गरिसकेको जनाएको छ।





