राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकताको सहमति गरेका उज्यालो नेपाल पार्टीका संयोजक कुलमान घिसिङले समानुपातिक उम्मेदवारको सूचीमा आफ्ना भान्जा र ससुरा परेको भन्ने आरोपको खण्डन गरेका छन्।
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी एकतापछि निर्वाचन आयोगमा पेस गरिएको समानुपातिकतर्फको संयुक्त बन्दसूचीमा ऊर्जामन्त्रीसमेत रहेका घिसिङका नातेदार समावेश गरिएको दाबी सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा आएपछि उनले बुधबार सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका हुन्।
घिसिङका अनुसार समाचारमा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति उनका भान्जा होइनन् र उनी उज्यालो नेपाल पार्टीको तर्फबाट सिफारिस गरिएका पनि होइनन्। त्यस्तै, ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि आफ्नो वास्तविक ससुरा नभएको उनले स्पष्ट पारेका छन्।
‘प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएका केही उम्मेदवारलाई मसँग जोडेर असत्य, भ्रामक र नियोजित टिकाटिप्पणी फैलाइएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन्, ‘ती व्यक्ति न मेरा नातेदार हुन्, न त मेरो पार्टीका।’
रास्वपाका सभापति रवि लामिछानेसँग पार्टी एकता गर्दै वरिष्ठ उपसभापतिको जिम्मेवारी लिएका घिसिङले समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा नभई पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको जिकिर गरेका छन्।
उनले सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको दाबी गर्दै तथ्य नबुझी फैलाइने यस्ता हल्लाले आफ्नो इमानदार यात्रालाई कमजोर पार्ने प्रयास भएको टिप्पणी गरेका छन्।
साथै, बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याइने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
‘म आज पनि पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा दृढ छु,’ उनले भनेका छन्, ‘त्यसैले यस्ता भ्रामक समाचार र टिकाटिप्पणीको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु।’
यस्तो छ उनको पूरा भनाइ :
प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएका केही उम्मेदवारलाई मसँग जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइँदै आएका असत्य, भ्रामक र नियोजित टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, साथै उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन्। त्यसैगरी समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु।
समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा होइन, पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको हो। म सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको छु। त्यही इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्य नबुझी फैलाइने यस्ता नियोजित हल्ला र आरोपहरू दुःखद छन्।
राजनीतिमा असहमति हुन सक्छ, तर झुट र भ्रम फैलाएर कसैको बदनाम गराउने प्रयास आपत्तिजनक छ। साथै बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याइने प्रतिबद्धता समेत व्यक्त गर्दछु। म आज पनि पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा दृढ छु। त्यसैले यस्ता भ्रामक समाचार र टिकाटिप्पणीको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु।














![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)



प्रतिकृया