लाभांश पारित गर्दै नबिल बैंकको साधारणसभा सम्पन्न, अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

लाभांश पारित गर्दै नबिल बैंकको साधारणसभा सम्पन्न, अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सोमबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट उक्त लाभांश पारित गरेको हो।

साधारणसभाले संस्थापक सेयरधनीतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक सञ्चालक पदमा अनिल केशरी शाह लाई निर्विरोध निर्वाचित गरेको छ।

यसैबीच, सोमबार बसेको बैंक सञ्चालक समितिको ६९९औँ बैठकले सञ्चालक निर्वाणकुमार चौधरी लाई बैंकको अध्यक्षमा चयन गर्ने निर्णय गरेको छ। नेपाल राष्ट्र बैंकबाट सपथ ग्रहण गरेपछि उनले अध्यक्षको कार्यभार सम्हाल्नेछन्।

बैंकका अनुसार निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौडेल ले आफ्नो दुई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका छन्। उनको नेतृत्वमा बैंकले दिगो बैंकिङ क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाइएको छ। टिम निर्माण, डिजिटल रूपान्तरणको सुदृढीकरण, दिगो बैंकिङ अभ्यास, नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) तथा मर्जर प्रक्रियालाई सफल बनाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

चालु आर्थिक वर्ष २०८२/८३ मा बैंकले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ५ करोड कित्ता, कुल ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८५ अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ नामक नयाँ पुँजी उपकरण जारी गरेको छ। उक्त उपकरण जारी भएपछि अतिरिक्त प्राथमिक पुँजीमार्फत बैंकको पुँजीगत आधार सुदृढ हुने, जोखिम वहन क्षमता बढ्ने तथा व्यवसाय विस्तारमा थप सहयोग पुग्ने बैंकको विश्वास रहेको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स