देशभर मनसुन सक्रिय, यी प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, यी प्रदेशमा भारी वर्षाको सम्भावना
Advertisement Ads

देशभर मनसुनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश  स्थानमा  वर्षाको सम्भावना रहेको बताएको छ ।  हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग आसपास तथा पूर्वमा सरदर स्थान आसपास छ ।

हाल देशभर बदली भएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश बदली हुनेछ । हिमाली,पहाडी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना छ ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकाध स्थानका साथै मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति पनि देशभर अधिकांश बदली हुनेछ । हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका अधिकांश स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति नै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस र बागमती प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।

202607190606 bc848751 1e9f 48ab 8a8e 48ddd2e61365 medium https://bajarkochirfar.com/monsoon-active-across-the-country-heavy-rain-likely-in-these-provinces | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स