बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले पुनः निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा तान्ने भएको छ। केन्द्रीय बैंकले चैत ३० गते बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्न लागिएको जानकारी दिएको छ, जसका लागि आज दिउँसो ३ बजे बोलकबोल गरिनेछ।
निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म, ५ करोड रुपैयाँका गुणकमा बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलन प्रक्रिया ब्याजदरमा आधारित हुनेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
राष्ट्र बैंकका अनुसार यो ५६ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी जेठ २५ गते भुक्तानी गरिनेछ। पछिल्लो समय कर्जाको माग सुस्त हुँदा बैंकिङ प्रणालीमा तरलता अत्यधिक रहेको छ, जसका कारण बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशत हाराहारीको न्यून ब्याजदरमै केन्द्रीय बैंकलाई रकम दिन बाध्य भइरहेका छन्।



















प्रतिकृया