संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारी सेवालाई थप जिम्मेवार र पारदर्शी बनाउन बुधबारदेखि ‘कर्मचारी आचारसंहिता, २०८३’ लागू गरेको छ। यो आचारसंहिता मन्त्रालय र त्यसअन्तर्गतका नागरिक उड्डयन प्राधिकरण, वायुसेवा निगम र पर्यटन बोर्ड जस्ता निकायमा कार्यरत सबै कर्मचारीहरूका लागि अनिवार्य गरिएको छ।
यस नयाँ व्यवस्था अनुसार अब सरकारी कर्मचारीले कुनै पनि सेवाग्राहीबाट उपहार वा व्यक्तिगत फाइदा लिन पाउने छैनन्। कर्मचारीहरूलाई सरकारी स्रोत र साधनको दुरुपयोग गर्न रोक लगाइएको छ भने भ्रमणका क्रममा सेवाग्राहीकै खर्चमा सुविधा लिन पनि निषेध गरिएको छ।
विशेषगरी हवाई क्षेत्रका कर्मचारीले उडानका क्रममा भिडियो बनाएर सामाजिक सञ्जाल वा व्यक्तिगत प्लेटफर्ममा राख्न नपाउने र कार्यालय समयमा व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जाल चलाउन नपाउने नियम बनाइएको छ।
आचारसंहितालाई प्रभावकारी बनाउन प्रत्येक कर्मचारीले अनिवार्य रूपमा शपथपत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको छ। कर्मचारीले यो नियम पालना गरे वा नगरेको विषयलाई उनीहरूको वार्षिक कार्यसम्पादन मूल्याङ्कनसँग जोडिनेछ।




















प्रतिकृया