महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले स्वास्थ्य उपचार तथा पुनर्स्थापनाको चुनौती सामना गरिरहेकी ज्योति महतसँग भेट गरी उनको अवस्था र आवश्यकताबारे जानकारी लिएकी छन्।
भेटमा ज्योतिले आफ्नो स्वास्थ्य अवस्था, उपचारका क्रममा भोगेका समस्या तथा आगामी दिनमा आवश्यक सहयोगबारे मन्त्री बादीलाई जानकारी गराएकी थिइन्। उनले आफूले भोगेको यौन हिंसासम्बन्धी विषयसमेत मन्त्रीसमक्ष राखेकी थिइन्।
ज्योतिको अवस्थाबारे जानकारी लिएपछि मन्त्री बादीले उपचार तथा स्वास्थ्य सेवामा आवश्यक सहजीकरण गर्ने बताइन्। यौन हिंसासम्बन्धी विषयमा न्यायका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता पनि उनले जनाइन्।
दीर्घकालीन पुनर्स्थापना र आत्मनिर्भरताका लागि रोजगारी तथा जीविकोपार्जनको अवसर उपलब्ध गराउन आवश्यक पहल गर्ने मन्त्री बादीले बताइन्। उनले ज्योतिको स्वास्थ्य, पुनर्स्थापना र न्यायका लागि आवश्यक सहयोगका क्षेत्र पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गर्न मन्त्रालयका अधिकारीलाई निर्देशनसमेत दिएकी छन्।
मन्त्री बादीले उपचारपछि मात्रै राज्यको जिम्मेवारी पूरा नहुने बताउँदै पीडित नागरिकलाई न्याय, आत्मनिर्भरता र सम्मानजनक जीवनमा फर्काउन राज्यले सहयोग गर्नुपर्नेमा जोड दिइन्।
“राज्यको जिम्मेवारी उपचार गराएर मात्र पूरा हुँदैन। पीडित नागरिकलाई न्याय दिलाउने प्रक्रियामा सहजीकरण गर्नुका साथै आत्मनिर्भर बन्ने अवसर र सम्मानपूर्वक जीवन जिउने वातावरण निर्माण गर्नु पनि राज्यको दायित्व हो,” मन्त्री बादीले भनिन्।
भेटका क्रममा ज्योतिले आफ्नो अवस्थाप्रति चासो राख्दै उपचार, न्याय र भविष्यका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा मन्त्री बादीप्रति आभार व्यक्त गरेकी थिइन्।
मन्त्रालयले प्रभावित तथा जोखिममा रहेका नागरिकको उपचार, संरक्षण, न्यायमा पहुँच, पुनर्स्थापना, सामाजिक सुरक्षा र आत्मनिर्भरताका लागि उपलब्ध सरकारी संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्दै जाने जनाएको छ।
प्रतिकृया