देशभर भइरहेको आन्दोलन र प्रदर्शनका क्रममा उद्योग–व्यवसाय, प्रतिष्ठान र निजी सम्पत्तिमा भएको क्षति प्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर चिन्ता व्यक्त गरेको छ।
महासंघले बुधबार कार्यकारिणी समिति र पूर्व अध्यक्षहरूसँगको बैठकपछि जारी विज्ञप्तिमा, आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना जनाएको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, जनधनमा भएको क्षतिप्रति दुःख व्यक्त गरिएको छ।
पछिल्लो आन्दोलनका क्रममा धेरै उद्योगी व्यवसायीका कार्यालय, प्रतिष्ठान र निवासमा तोडफोड र आगजनी भएको विज्ञप्तिमा भनिएको छ । महासंघले यस्तो घटनाको भर्त्सना गर्दै, भविष्यमा दोहोरिन नदिन सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएको छ। प्रारम्भिक अनुमानअनुसार, अर्बौं रुपैयाँ बराबरको क्षतिले राजस्व र कुल गार्हस्थ्य उत्पादनमा गम्भीर असर पार्ने देखिन्छ।
महासंघले शुसासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी र स्वरोजगारी जस्ता विषयप्रति युवा पुस्ताले देखाएको चासोलाई सम्मान गर्दै, विकसित घटनाक्रम विवेकपूर्ण ढंगले समाधान भई मुलुक विकासको यात्रामा अघि बढोस् भन्ने अपेक्षा व्यक्त गरेको छ।
विज्ञप्तिमा निजी क्षेत्रका उद्यमीव्यवसायीलाई पेशा–व्यवसाय गर्ने वातावरण र सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ। साथै निषेधाज्ञा वा कर्फ्यूको समयमा औषधि, खाद्यान्न, दूध, पानी, तरकारी र पेट्रोलियम जस्ता अत्यावश्यक वस्तुहरूको आपूर्ति सहज बनाउन सुरक्षा समितिमा महासंघका प्रतिनिधि सहभागी गरिनुपर्ने माग गरिएको छ।
महासंघले देशभरका व्यवसायीलाई गुणस्तरीय वस्तु नियमित रूपमा आपूर्ति गर्न, बजारमा अभाव नहोस् भनेर व्यवस्था मिलाउन र भन्सार नाकामा आवश्यक वस्तु आयात–निर्यात सजिलो बनाउन सरकारसँग पहल गर्न आग्रह गरेको छ।
नेपालमा निजी क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ८१ प्रतिशत, राजस्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान गर्दै आएको छ। महासंघले निष्कर्ष निकालेको छ कि निजी क्षेत्रको सुरक्षा र अनुकूल वातावरणले मात्रै अर्थतन्त्रलाई सक्रिय राख्न र दीगो विकास सुनिश्चित गर्न सकिन्छ।
बैठकले युवाहरूको चाहना अनुसार शुसासन, स्वतन्त्रता, मर्यादित रोजगारी, लगानी प्रवर्द्धन र स्थायी विकासका लागि अनुकूल वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्दै, सबै पक्षले मिलेर समुन्नत समाज निर्माणमा योगदान दिनुपर्ने निष्कर्ष पनि सार्वजनिक गरेको छ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया