इसेवाको QR स्क्यान गर्दा रकम खल्तीमै जाने विषयमा प्रयोगकर्तालाई झुक्याएको खल्तीले अहिले भने यो कुरा सच्याएको छ। बजारको चिरफारले यसबारे समाचार प्रकाशित गरेपछि खल्तीले इसेवाको QR स्क्यान गर्दा अरू वालेटमा पैसा पठाउन नमिल्ने कुरा स्पष्ट देखाउन थालेको हो।
यसअघि खल्तीबाट इसेवाको QR स्क्यान गर्दा प्रयोगकर्तालाई थाहा नदिई पैसा खल्ती खातामा जाने गर्थ्यो। QR दिने प्रयोगकर्ताले इसेवा QR दिएको हुँदा पैसा इसेवामै आउने अपेक्षा गर्थे। यसरी प्रयोगकर्ता झुक्किने गरेका थिए। यो कुरा बिजनेसको एथिकल रूपमा हेर्दा पनि गलत हो।
अर्थात्, QR कोड इसेवाको भए पनि पैसा इसेवामा नभई खल्तीमै जाने गरेको थियो। यसरी खल्तीले प्रयोगकर्तालाई झुक्याउँदै आएको थियो। यसबारे धेरैले गुनासो समेत गरेका छन्।
खल्ती र इसेवाबीच एकअर्काको वालेटमा सिधै पैसा पठाउन मिल्दैन। तर खल्तीले इसेवाको QR स्क्यान गर्न मिल्ने बनाएपछि QR मा रहेको नाम, इसेवा आईडी लगायतका विवरण पढेर आफ्नै भुक्तानी प्रक्रिया अघि बढाउँदै आएको थियो।
यही विषयमा बजारको चिरफारले भदौ ३१ गते ‘खल्तीबाट इसेवाको QR स्क्यान गर्दा रकम खल्तीमै, प्रयोगकर्ता झुक्किए’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो।
समाचारपछि खल्तीले अहिले इसेवाको QR स्क्यान गरेपछि नयाँ सन्देश देखाउन थालेको छ। एपमा ‘अरू वालेटमा पैसा पठाउन अहिले मिल्दैन, तर खल्तीमै पठाउन सजिलो र निःशुल्क छ’ भन्ने जानकारी देखिन्छ।
यसपछि प्रयोगकर्ताले खल्तीमै पैसा पठाउने विकल्प पाउँछन्। यसरी इसेवाको QR स्क्यान गरे पनि पैसा इसेवा खातामा नभई खल्तीमै जानेछ।
प्रयोगकर्तालाई QR कोड हेरेर पैसा इसेवा खातामा जाने हो भन्ने भ्रम पर्न सक्ने अवस्था अब भने कम भएको छ।

प्रतिकृया